add

पाटनमा कलाकार श्याम ज्यापूको तीन दिने एकल पौभा चित्रकला प्रदर्शनी

Swoniga Online – स्वनिगः अनलाइन | २०८१ बैशाख २१, शुक्रबार वर्गीकृत कला

ललितपुर/२ बैशाख : कलाकार श्यामकृष्ण महर्जन (श्याम ज्यापू)को तीन दिने एकल पौभा चित्रकला प्रदर्शनी सुरु भएको छ । याेङ पिकासाेद्वारा ललितपुरको पाटन सङ्ग्रहालयमा आज बिहिबारबाट सुरु भएको प्रदर्शनी शनिबारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा ज्यापूले सृजना गर्नुभएका ३२ वटा चित्रहरु प्रदर्शनीमा रहेका छन् ।
हिन्दु तथा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न देवदेवीका पौभा चित्र प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीले जनमानसमा कलाको महत्त्वलाई स्थापित गर्दै नेपालको मौलिक कला पौभा: कलालाई अझ प्रचारप्रसार गर्ने उद्देश्य रहेको कलाकार ज्यापू बताउनुहुन्छ ।
प्रदर्शनीको उद्घाटन गर्नुहुँदै नेपालका लागि श्रीलंकन राजदूत सुदर्शना पाथिरानाले "एउटा तश्वीरले हजार शव्द बराबरको शक्तिकाे प्रतिनिधित्व गरेकाे हुन्छ" भनिएजस्तै  कलाकारले काेरेकाे चित्रकलाले धेरै शब्दहरु, आइडियाहरु र धारणा व्यक्त गरेकाे हुने बताउनुभयो । उहाँले श्रीलंका र नेपाल काे लामाे इतिहास रहेकाे स्मरण गर्नुहुँदै श्रीलंका बुद्ध धर्मकाे अनुशरण गर्ने देश र नेपाल बुद्धकाे जन्मथलाे रहेकाे भन्दै दुवै देशकाे कलासंस्कृति, परम्परा र मुल्य मान्यतामा मिल्दोजुल्दो रहेकाे बताउनुभयो ।  उहाँले यस्ता कला प्रदर्शनीलाई निरन्तरता दिंदै दुई देशबिचकाे कला क्षेत्रकाे माध्यमबाट सामिप्यतालाई अझै बढवा दिनुपर्ने बताउनुभयो । उहाँले कला र संस्कृतिको विकास र संरक्षणले मात्रै मौलिकता बच्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्नुहुँदै समाजसेवी शाक्य सुरेन ले कलाका विभिन्न क्षेत्रहरु छन् भन्दै सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
याेङ पिकासाेका निर्देशक अजय देसार अफ्नाे संस्थाले विभिन्न स्थानमा कला प्रदर्शनी गरेर चित्रकला क्षेत्रकाे बिकास र बिस्तारमा रचनात्मक कामहरु गर्दै आइरहेको बताउनुभयो । उहाँले पाटन कलाकाे नगरी भएको तथ्यलाई स्मरण गर्दै कलाकाे शहरमा पाटन दरवार संग्रहालय वाहेक कला प्रदर्शनी गर्ने अन्य स्थानहरु नहुनु  दु:खद भएको बताउनुभयो ।
पौभाः नेपालका नेवार जातिहरूको मौलिक परम्परागत चित्रकला हो। यो चित्रकला तामाङ, शेर्पा तथा गुरुङ जातिहरू तथा तिब्बती परम्परागत चित्रकला थान्कासँग मिल्दोजुल्दो हुन्छ। पौभाः चित्रकलामा कपडामा देवीदेवताका चित्र अथवा कुनै धार्मिक कथासँग सम्बन्धित चित्रहरू बनाउने गरिन्छ। धार्मिक पुस्तकमा उल्लेख भएको उपदेश, कथाहरूको अध्ययन गरी तिनलाई प्रतीकको रूपमा विभिन्न मुद्रा, आशन तथा प्रतिमा लक्षण मिलाई पौभाःमा उतारिन्छ। पौभाः चित्रकलाका विषय धेरै हुन्छन्। यो महायान र बज्रयान दर्शनबाट पनि प्रभावित छ। यसैगरी शाक्त, शैव र वैष्णव पनि पौभाः चित्रकलामा उतारिन्छ। धार्मिक आस्थाबाट आरम्भ भएको पौभाः अहिले आधुनिक र उत्तरआधुनिक चित्रकलाको दाँजोमा चर्चामा नआए पनि यसको महत्त्व घटेको छैन। खर्चिलो र बढी समय लाग्ने भएकाले यसमा लाग्नेहरू थोरै छन्।