अन्ततः बागमतीमा एमालेको एकल बहुमत गुम्यो

Swoniga Online – Rosni | २०७८ भाद्र १६, बुधबार वर्गीकृत राजनीति

काठमाडौं । बागमती प्रदेशमा एमालेले अन्ततः एकल बहुमत गुमाएको छ । ११० सदस्यीय प्रदेशसभामा एमाले एक्लैका ५६ सांसद थिए ।

जबकी बहमुतका लागि ५५ सांसद भए पुग्थ्यो । तर, एमाले विभाजनसँगै बागमतीमा नयाँ मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य सुरुबाटै दबाबमा आएकी छिन् । 

एमाले छोडेर १२ सांसदले माधवकुमार नेपालको पार्टी रोजेपछि शाक्य स्वतः अल्पमतमा परेकी हुन् ।  अल्पतमा परेपछि उनले विश्वासको मत लिनुपर्ने देखिएको छ ।

शाक्य यस अघि माधव नेपाल समूहकै भए पनि उनले नेपाललाई साथ नदिई एमालेतिर रहने जनाउ दिइसकेकी छिन् । मुख्यमन्त्री छोड्नुपरे पनि एमाले नछोड्ने उनको भनाई छ ।

तर, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले यस अघि देखि नै आफ्नो दल नरोजे शाक्यको मुख्यमन्त्री पद धरापमा पर्ने यस अघि नै बताइसकेका छन् । 

पछिल्लो फेरबदलसँगै ११० सदस्यीय प्रदेशसभामा एमालेका ४४, माओवादी केन्द्रका २३, कांग्रेसका २२, नेकपा एसका १२, विवेकशील साझा र मजदुर किसान पार्टीका ३र३, राप्रपाका २ र स्वतन्त्रका एक सांसद छन् । 

अब शाक्यले विश्वासको मत लिन नसक्दा कांग्रेसको २३, माओवादीको २२ र नेकपा एसको १२ गर्दा ५७ सांसद पुग्छन् । जुन बहुमतका लागि पुग्ने मत हो । यसमा विवेकशीसहितका दलले साथ दिए झन् सहज हुनेछ । तर, कांग्रेस र माओवादीले नेकपा एसको साथ पाए मात्रै सरकार गठन गर्न सक्नेछन् । 

एमालेलाई बहुमतमा टिकाउन, कांग्रेस र माओवादीाई सरकार गठन गर्न पनि नेता नेपालकै पार्टी नेकपा एसको साथ र सहयोग आवश्यक पर्ने देखिएको छ ।  शाक्य अल्पमतमा परेसँगै नेकपा एसका सांसद राजेन्द्र पाण्डेले आफू अब मुख्यमन्त्री बन्ने दाबी गरेका छन् ।