अफगानिस्तानमा रहेका नेपालीलाई छिटो उद्धार गर्ने सरकारको निर्णय

Swoniga Online – Rosni | २०७८ श्रावण ३२, सोमबार वर्गीकृत राजनीति

काठमाडौँ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई छिटो भन्दा छिटो उद्धार गर्ने निर्णय गरेको छ।

बालुवाटारमा सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सकुशल रुपमा छिटो उद्धार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वयात्मक रूपले काम गर्न निर्देशन दिने निर्णय भएको कार्कीले बताए।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गर्ने जिम्मेवारी सरकारले पूरा गर्ने बताएका थिए। सुरक्षा र उद्धार प्रतिक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व रहको प्रधानमन्त्रीको भनाई थियो।

उनले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन तथा अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार नै निर्देशन गरिसकेको समेत जानकारी दिएका थिए। तालिबान लडाकुले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेका नेपालीहरु उद्धारको पर्खाइमा छन्। केही नेपालीहरुलाई अमेरिकाले उद्धार गरेर दोहा पुर्‍याएको छ। अफगानिस्तानमा कति नेपालीहरु छन् भन्ने यकिन तथ्यांक सरकारले सार्वजनिक गरेको छैन।

तालिबानले मुलुक कब्जा गरेपछि अफगानिस्तानका राष्ट्रपति देश छाडेर भागेका छन्। उनले रगतको खोलो बगाउन नचाहेकाले आफूले देश छाडेको र अब अफगानिस्तानको जिम्मेबारी तालिबानको हातमा पुगेको बताएका छन्।