add

आजै स्वास्थमन्त्री नियुक्त गर्दै प्रधानमन्त्री देउवा, को हुने भयो मन्त्री ?

Swoniga Online – Rosni | २०७८ श्रावण १०, आइतबार वर्गीकृत राजनीति

प्रधानमन्त्री शेरबहादुर देउवा आजै स्वास्थ्यमन्त्री नियुक्ति गर्ने मुडमा देखिएका छन् । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा प्रधानमन्त्री नै आलोचित हुन थालेपछि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मात्र भए पनि विभागीय जिम्मेवारी दिने मुडमा प्रधानमन्त्री पुगेका हुन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयमा दाबी प्रस्तुत गरेको सत्तारूढ घटक जनता समाजवादी पार्टी (जसपा)लाई मन्त्रीको नाम दिन आग्रह गरिसकेका छन् । तर, जसपाले निर्वाचन आयोगबाट दलको आधिकारिकतासम्बन्धी टुंगो नलाग्दासम्म मन्त्री तोक्ने अवस्थामा नरहेको जनाएको छ । त्यसैले स्वास्थ्य मन्त्रालयको नेतृत्व कांग्रेसले नै गर्ने सम्भावना बढेको छ ।

जनता समाजवादी पार्टीमा उपेन्द्र यादव र महन्थ ठाकुरका छुट्टाछुट्टै समूह बनाएर फरक–फरक गठबन्धन रोजेपछि गएको असारदेखि नै जनता जसपा फरक–फरक पार्टीको अभ्यासमा छ । तर, दल विभाजन नभइसकेकाले उपेन्द्र यादव समूह दलको आधिकारिकता लिएर मात्र सरकारमा सहभागी हुने तयारीमा छ । त्यही कारण यादव समूहले मन्त्री सिफारिस नगर्ने जनाएको छ ।

“हामी निर्वाचन आयोगमा सनाखत नहुँदासम्म कुनै पनि मन्त्री सिफारिस गर्दैनौँ । त्यसैले आज मन्त्रीको नाम दिने कुनै सम्भावना छैन,” जसपा नेता इस्तियाक राईले भने, “हेर्नुहोला आजै नियुक्ति भयो भने स्वास्थ्य मन्त्रालयमा कांग्रेसकै नेतृत्व आउनेछ ।” उनले स्वास्थ्यमन्त्री कांग्रबेसबाटै नियुक्ति गर्न अनुमति दिएको नबताए पनि प्रधानमन्त्री देउवासँग समझदारी भइसकेको संकेत गरेका छन् ।

बालुवाटार स्रोतले कोभिड संकटका बेला स्वास्थ्य मन्त्रालय नै नेतृत्वविहीन हुँदा त्यसको नरकारात्मक प्रभावले सरकारको छविसमेत बिग्रने र जनस्वास्थ्यमा प्रभावकारी काम नहुने बुझेर प्रधानमन्त्री देउवा एकजना मात्र भए पनि मन्त्री नियुक्तिको तयारीमा लागेको बतायो ।

“अन्य मन्त्रालयको विषयमा त अझै निर्णय गर्ने अवस्थासम्म पुगिसकेको अवस्था छैन । तर, स्वास्थ्य मन्त्रालयको नेतृत्व आजै तोक्ने तयारी बुझेको छु,” बालुवाटार स्रोतले भन्यो, “त्यसैले कसको नेतृत्व हुन्छ भन्ने कुरा जसपाले मन्त्रीको नाम दिन सक्छ कि सक्दैन भन्नेमा भर पर्छ ।”

स्रोतका अनुसार जसपाले दाबी गरेको हुँदा उसले नाम दिए जसपाकै नभए आफ्नै पार्टीबाट भए पनि मन्त्री तोक्ने तयारीमा प्रधानमन्त्री छन् । श्रोतका अनुसार डा पुष्पा भुसाललाई देउवाले स्वास्थ मन्त्री बनाउदैछन्।