add

आधाभन्दा बढीले पाएनन् कोरोना बीमा रकम

Swoniga Online – Rosni | २०७८ भाद्र ४, शुक्रबार वर्गीकृत राष्ट्रिय

संकटका बेला गरिएको कोरोना बीमाको दाबी भुक्तानी नपाएर हजारौंँ बिमित निराश बनेका छन् । सरकारले एक वर्षदेखिको बीमाको दाबी भुक्तानी गर्न नसक्दा बिमितहरू अन्योलमा परेका हुन् ।

लामो समयदेखि अड्किएको दाबी भुक्तानीका फाइलहरू खुल्न अझै कति समय लाग्ने हो टुंगो छैन । सरकार, बीमा कम्पनी र बीमा समितिको चेपुवामा यो भुक्तानी परेको छ ।

आधाभन्दा बढी भुक्तानी गर्न बाँकी 

कोराना बीमाका लागि हालसम्म १ लाख ३७ हजार ७५४ जनाको भुक्तानी दाबी परेको छ । बीमा समितिका अनुसार करिब १३ अर्ब बराबरको दाबी भुक्तानीको दायित्व छ ।  तर, अहिलेसम्म करिब ३५ हजार फाइलको मात्रै टुंगो लागेको बीमा समितिले जनाएको छ ।

हालसम्म अनुदानसहित बीमा कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनी मिलेर ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ भुक्तानी गरिएको बीमा समितिले जनाएको छ । कोरोना बीमा गर्दाको शुल्कबापत कम्पनीहरूले १ अर्ब ५ करोड ५ लाख रुपैयाँ उठाएका थिए ।

कोरोना मापदण्डअनुसार एक अर्ब बीमा समितिले, एक अर्ब बीमा कम्पनीले, ५० करोड महाविपत्ति कोष र पुनर्बीमा कम्पनीबाट भुक्तानी दिने उल्लेख छ ।  ३ अर्ब ५० करोडभन्दा माथि नेपाल सरकारले व्यहोर्ने मापदण्डमा स्पष्ट पारिएकोे छ । अहिले सरकारले कोरोना बीमा वापतको व्यहोर्नुपर्ने दायित्व करिब १० अर्ब पुगेको छ ।