आलमविरुद्धको मुद्दाको पेशी स्थगित, आलमका वकील बिरामी

Swoniga Online – Rosni | २०७८ भाद्र ११, शुक्रबार वर्गीकृत राजनीति

काठमाडौँ– मानिसलाई ईँटा भट्टामा हालेर पोलेको अभियोगमा थुनामा रहेका कांग्रेस नेतासमेत रहेका मोहम्मद अफ्ताब आलमविरुद्धको मुद्दा शुक्रबार पेशीमा चढे पनि सुनुवाइ नभइ स्थगित भएको छ । सर्वोच्च अदालतको पेशी नम्बर ८ मा शुक्रबार आलमविरुद्धको मुद्दाको पेशी चढेको थियो । तर, आलमको तर्फबाट बहस गर्ने कानुन व्यवसायी पुष्प पौडेल बिरामी परेपछि पेशी स्थगित भएको हो ।

सर्वोच्चका न्यायाधीशहरु प्रकाशमानसिंह राउत र प्रकाश कुमार ढुंगनाको इजलासमा सो मुद्दाको सुनुवाइ हुँदै थियो । तर, अधिवक्ता पौडेल बिरामी परेपछि पेशी स्थगित भएको हो । सर्वोच्च अदालतले सो मुद्दाको पेशी स्थगित भएको जनाएको छ ।

२०६४ को संविधान सभा निर्वाचनका क्रममा आलमले दुईजना मानिसलाई ईँटा भट्टामा हालेर पोलेको आरोप छ । उनी सो आरोपमा पुर्पक्षका लागि थुनामा छन् । रौतहटबाट २०७४ को प्रतिनिधिसभा चुनावमा कांग्रेस उम्मेदवारका रुपमा निर्वाचित आलम जेल परेपछि सांसद पदबाट निलम्बित छन् ।