उपत्यकामा असार २१ गतेसम्म थपियो निषेधाज्ञा, के गर्न पाइन्छ के गर्न पाइँदैन ?

Swoniga Online – Rosni | २०७८ आषाढ १४, सोमबार वर्गीकृत राष्ट्रिय

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्दै एक साता थपिएको छ । सोमबार उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा खुकुलो बनाएर असार २१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार मंगलबारदेखि सार्वजनिक यातायातसमेत जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् । ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख ढुण्डीप्रसाद निरौलाका अनुसार विभिन्‍न व्यवसायमा निषेधाज्ञा खुकुलो बनाइएको छ ।

अब २५ सिट क्षमता बढी भएका सार्वजनिक यातायातका सवारीसाधन बिहान ६ बजेबाट बेलुका ७ बजेसम्म चल्न पाउनेगरी निषेधाज्ञा खुकुलो भएको छ । त्यस्तै, औषधि तथा स्वास्थ्य सामग्री, सम्बन्धी पसल जुनसुकै समयमा निर्वाध रुपमा सञ्‍चालन गर्न पाउने भएका छन् । त्यस्तै खाद्यान्‍न दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री विक्रि वितरण गर्ने पसलहरू, खेलकुद सामग्री पसल, स्टेशनरीरपुस्तक पसलहरू बिहानदेखि साँझ ६ बजेसम्म सञ्‍चालन गर्न पाउने भएका छन् ।

डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्सा जन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल सोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्युटर पसल) र निर्माणजन्य सामग्रीको पसल (हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, कार्पेटिङ) लगायत अन्य पसलरव्यवसाय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्‍चालन गर्न पाइनेछ ।

त्यस्तै, अत्यावश्यक वस्तुहरूको अनलाइन अर्डर, रेष्टुरेण्ट एंव फास्टफुड तथा अन्य अर्डरहरू टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्‍चालन गर्न पाइनेछ । सवारी साधन मर्मतका लागि वर्कशपहरू साँझ ७ बजेसम्म सञ्‍चालन गर्न पाइने नयाँ आदेशमा उल्लेख छ । पसल तथा व्यवसाय सञ्‍चालन सञ्‍चालन गर्न कम्तिमा २ मिटरको भौतिक दुरी कायम गर्ने, अनपवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ ।

यी क्षेत्र बन्द

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न रोक लगाइएको छ । खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न नपाईने भनिएको छ । यस्तै शैक्षिक संस्थाहरु विघालय, कलेज, ट्यूसन सेन्टर, तालिम केन्द्रले भौतिक उपस्थितिमा पठन पाठन परीक्षाहरु संचालन गर्न गराउन नपाउने भनिएको छ ।