एक महिनासम्म सरकारले काम गरेन, बधाई साटासाट मात्रै गरेर बसेको छ : केपी ओली

Swoniga Online – Rosni | २०७८ श्रावण २६, मंगलबार वर्गीकृत राजनीति

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असामान्य तरिकाले सरकार परिवर्तन भएको बताउनुभएको छ । 

प्रतिनिधि सभामा आज मङ्गलवार सम्बोधन गर्दै ओलीले संसारमा कतै पनि अदालतले प्रधानमन्त्री नियुक्त नगरेको दाबी गर्दै नेपालमा अदालतले परमादेशबाट प्रधानमन्त्री नियुक्त गर्नु अनौठो भएको बताउनुभयो ।

सरकारले एक महिनासम्म केही काम नगरेको र बधाई साटासाट गरेर मात्रै बसेको ओलीको आरोप छ । उहाँले सरकारले सुरुमै भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न बनेको आयोग खारेज गरेर जनविरोधी काम गरेको र सरकारको आउँदो यात्रा पनि प्रष्ट नै भइसकेकोे आरोप लगाउनुभयो ।

तत्कालीन माओवादीसँग राम्रो उद्देश्यले पार्टी एकीकरण गरे पनि पूर्वमाओवादी र आफ्नै दलका नेताहरूले पदका लागि पार्टी फुटाउनेदेखि सरकार ढाल्नेसम्मका काम गरेको ओलीको जिकिर छ । आफू जस्केलाबाट प्रधानमन्त्री यसअघि पनि नभएको र अब फेरि पनि मूलबाटो बाटै प्रधानमन्त्री बन्ने ओलीले बताउनुभयो ।