एमालेको स्थायी कमिटी बैठक शुरू

Swoniga Online – Rosni | २०७८ श्रावण २५, सोमबार वर्गीकृत राजनीति

कपा एमाले ओली पक्षको स्थायी कमिटी बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुरू भएको छ । स्थायी कमिटी बैठक लगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने एमाले केन्द्रीय कार्यालयमा सचिव एवं बागमती प्रदेशमा सह-इन्चार्ज शेरबहादुर तामाङले बताए । 

एमालेको आन्तरिक विवाद बढिरहेको सन्दर्भमा नेता माधव नेपाल पक्षले पार्टी गतिविधि रोकेर विवाद समाधानको प्रयास गर्न माग गरिरहेको छ । माधव नेपाल पक्षको कार्यदल सदस्यहरूको अनुरोधमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजोका लागि बेलाएको बैठक आज सारेका थिए । तर, हिजो दिनभर पार्टीको आन्तरिक विवाद समाधान हुने कुनै निष्कर्ष आउन सकेन । 

ओली पक्षको स्थायी कमिटी बैठकमा भाग लिनका लागि अध्यक्ष ओली, उपाध्यक्ष वामदेव गौतमलगायत ओली पक्षका र नेकपा माओवादीबाट एमालेमा आएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायत स्थायी कमिटी बैठकमा सहभागी छन् । 

ओली पक्षको यसअघि बसेको स्थायी कमिटी बैठकले पार्टी सदस्यता अद्यावधिक गर्ने र भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । आजको स्थायी कमिटी बैठकले विधान संशोधन मस्यौदा प्रस्ताव पारित गर्ने र दिउँसो बस्ने केन्द्रीय कमिटीले अनुमोदन गरेपछि मातहतका सबै कमिटीमा पठाउन तयारी रहेको तामाङले जानकारी दिए ।