add

एमाले स्थायी कमिटी बैठक आज बस्दै, तीन एजेन्डामाथि छलफल हुने

Swoniga Online – Rosni | २०७८ श्रावण १८, सोमबार वर्गीकृत राजनीति

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।​ ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

तामाङका अनुसार आजको बैठकमा पनि केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन र सांगठनिक गतिविधिलगायतका विषय छलफलका हुने छ । उनले केन्द्रीय विभागहरुले पूर्णता पाउने सम्भावना रहेको बताए ।  यसअघि माधव नेपाल समूहलाई बाहिर राखेर गठन गरिएका विभागलाई नै पूर्णता दिने तामाङले बताए ।

बैशाख १० गते विघटित १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले विभागीय जिम्मेवारी दिएको थियो । जसमा पूर्वमाओवादी नेताहरु समेतले विभागीय जिम्मेवारी पाएका छन् । आइतबारको बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरे छ । बैठकले काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ ।

बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

त्यस्तै, सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ ।

बैठकले आगामी असोजको पहिलो साता देशका सबै वडाहरूमा वडा अधिवेशन र दोस्रो साता सबै पालिकाहरूमा पालिकास्तरीय पार्टी अधिवेशन गर्ने निर्णय गरेको छ । एमाले महासचिव ईश्वर पोखरेलका अनुसार साउन २४ गते एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।