add

ऐतिहासिक समय् फल्चा पुरानै स्वरुपमा बनाउन प्रदर्शन

Swoniga Online | २०७८ भाद्र ८, मंगलबार वर्गीकृत स्थानीय-समाज

सर्वोच्च अदालतको फैसलाको मर्म अनुरुप समय् फल्चा पहिलेकै स्थानमा पुरानै स्वरुपमा निर्माण गर्नुपर्ने माग राख्दै मंगलबार पुल्चोकमा सम्पदाप्रेमीहरुले प्रदर्शन गरेका छन् ।

सेभ नेपाः भ्याली, आदिवासी नेवाःजागरण अभियान यल र सानो पाईलाले प्रदर्शनका लागि संयुक्त रुपमा आहवान गरेका हुन् । सो प्रदर्शनमा उनीहरुले ‘समय् फल्चा जस्तो छ, त्यस्तै र जुन ठाउँमा छ , त्यही ठाउँमा निर्माण गर्नुपर्नेमा’ ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराएका थिए । 

स्थानीयले प्रदर्शनमा समय् फल्चा जुन ठाउँमा रहेको हो, त्यसको नक्सांकन गर्नुपर्ने, समय् फल्चा पुनःनिर्माण व्यक्तिगत स्वार्थले प्रेरित गर्न नहुने भनि नेपाल भाषा र नेपालीमा लेखिएको प्लेकार्ड बोकेर आएका थिए । सोही वडामा अवस्थित नत्वाः पलेस्वा पुखू“ (पोखरी) को पुनःजीवन दिनुपर्ने भनि पनि प्लेकार्ड बोकेर स्थानीयहरु आएका थिए । 

प्रदर्शनलाई सम्बोधन गर्दै अभियन्ता राजाराम तण्डुकारले समय् फल्चाको पुनःनिर्माणलाई राजनीतिक लाभ वा हानी र कसैको पक्ष वा विपक्षको रुपमा लिन नहुनमा जोड दिनुभयो । उहाँले भन्नुभयो ‘सर्वोच्चको फैसला अनुसार सम्पदा निर्माण हुनुपर्दछ । समय् फल्चासंगै यसै वडामा रहेको ऐतिहासिक पलेस्वा पुखूँलाई पुनःजीवन दिनुपर्दछ । महानगरपालिकाले ऐतिहासिक पलेस्वा पुखूँमा दिएको पार्किङ ठेक्का खारेज गर्नुपर्दछ ।’ तीन वर्ष अघि स्थानीयलाई पेलेर महानगरपालिकाले ऐतिहासिक पलेस्वा पुखूँमा बस पार्किङको लागि ठेक्का दिएको थियो ।

सर्वोच्वको २०६५ बैशाख १२ गतेको फैसलामा साविककै पार्टी पुनःनिर्माण गर्दा कसैले रोक्नुनपर्ने भनिएको थियो । प्राचीन स्मारक ऐन २०१३ बमोजिम पुरानै स्वरुपमा पार्टी निर्माण गर्दा नगर विकास मापदण्ड र सार्वजनिक सडक ऐन, २०१९ लागू नहुने पनि पनि फैसलामा भनिएको छ ।‘ यसै मर्म अनुरुप पुरानै स्वरुपमा अलिकति पनि दायाँबाया नहुने गरी समय् फल्चा पुनःनिर्माण गर्नुपर्दछ । ’ अभियन्ता तण्डुकारले भन्नुभयो । 

अशोक स्तुपसँगै सडक किनारमा ‘समय फल्चा’ रहेको ७५ वर्ष स्थानीय श्यामकृष्ण महर्जनले बताउनुभयो । सो फल्चा रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा विशिष्ट उपयोग गरिन्थ्यो । मच्छिन्द्रनाथको रथ तान्न प्रयोग हुने ‘घमा’ राखिने लामो पाटी र अशोक स्तुपसँगैको नामसङ्गाती फल्चाको बीचमा समय फल्चा थियो, जहाँ रथयात्राका बेला ‘समयबजी’ खुवाउने गरिन्थ्यो । विसं २०२९ तिर भत्किएको यो फल्चा फेरि उठेन । २०३८ सालमा नापी नक्सा आउँदा त्यहाँको जनप्रतिनिधिले समय् फल्चा समेत उल्लेख गराएनन् । जसले गर्दा महानगरपालिकाबाट सहजै नक्सा पास फल्चा वरवर घर बनाउन थाले ।