ओलीले दायर गरेको रिटको सुनुवाइ प्रधानन्यायाधीश राणाको इजलासमा भए पनि आज सुनुवाई नहुने

Swoniga Online – Rosni | २०७८ भाद्र २०, आइतबार वर्गीकृत राजनीति

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज आइतबार कुनै पनि मुद्दा नहेर्ने भएका छन्। कार्यव्यस्तताको कारण देखाउँदै उनले मुद्दा नहेर्ने भएका हुन्।

राणाको इजलासमा आज तीनवटा महत्वपूर्ण मुद्दाको पेशी तोकिएको थियो। कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट, एमाले अध्यक्ष केपी ओलीले सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिट र विद्युत् प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको पेसी प्रन्या राणाको इजलासमा तोकिएको थियो।

आज नहुने रिटको सुनुवाइ भोलि सोमबार हुने सर्वोच्चले जनाएको छ। प्रतिनिधिसभाका सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशसभाका सभामुखविरुद्ध नेकपा (एमाले)ले दायर गरेको रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा परेको थियो ।

उक्त रिट यसअघि न्यायाधीश मीरा खड्काको इजलासमा परेकोमा इजलास बस्न नसकेर रोकिएको थियो। रिटमा सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरिसकेका व्यक्तिको कारबाही कार्यान्वयन नगरेको भन्दै उनलाई विपक्षी बनाइएको छ। एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेर संसद् सचिवालयमा पत्र पठाएकोमा सभामुखले सूचना टाँस नगरिदिएपछि उनीहरुको कारबाही रोकिएको थियो। 

यस्तै, निर्वाचन आयोगले एमालेले कारबाही गरिसकेका सांसद तथा केन्द्रीय सदस्यहरुलाई सनाखत गराएर कानुनविपरीत नेकपा (एकीकृत समाजवादी)लाई मान्यता दिएको भन्दै विपक्षी बनाइएको छ। त्यसैगरी लुम्बिनी प्रदेशसभाले एमालेले गरेको कारबाही सिफारिस कार्यान्वयन अस्वीकार गरेको भन्दै त्यसको कार्यान्वयन माग गरिएको छ।