ओलीले बोलाए स्थायी कमिटी बैठक, तटस्थ बसेका नेताहरू पनि सहभागी हुने

Swoniga Online – Rosni | २०७८ भाद्र ७, सोमबार वर्गीकृत राजनीति

नेकपा एमालेले आजै साँझसम्म स्थायी कमिटी बैठक राख्ने भएको छ । यो बैठकमा यसअघि एमालेमा माधवकुमार नेपाल समूहमा रहेका तर नेपालले नयाँ दल दर्ताका लागि निवेदन दिएपछि उनको साथ छाडेका स्थायी कमिटी सदस्यहरु पनि सहभागी हुने भएका छन् । यसका लागि उनीहरुले राखेका मागहरुको सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् ।

आफूहरु एमालेमा नै रहने आधार बनाउन यसअघि नेपाल समूहमा रहेका घनश्याम भुसाल, भीम रावल, अष्टलक्ष्मी शाक्यलगायत १० जना स्थायी कमिटी सदस्यले १० बुँदे सहमतिको प्रस्ताव कार्यान्वयन गर्न अल्टिमेटम दिएका थिए । नेपाल समूहका यी प्रभावशाली नेताहरुलाई एमालेमा नै ल्याउन अध्यक्ष ओलीले एउटा समिति बनाएर यसको कार्यान्वयन कहिलेसम्म गरिने भन्नेबारे सहमति गर्ने प्रयास गरेका छन् ।

‘हामीले यसअघि नै १० बुँदे सहमतिलाई आधार बनाएर केही कामहरु गरिसेकका छौँ, केही कार्यान्वयन भइसकेका छन्, हामी २ जेठमा फर्किएका पनि छौँ,’ ओलीनिकट एक नेताले फरकधारलाई भने, ‘हामीले यो १० बुँदेलाई केन्द्रीय कमिटी बैठकबाट अनुमोदन पनि गरिसकेका छौँ ।’ उनले आजै साँझसम्म स्थायी कमिटी बैठक बस्न सक्ने सम्भावना बढेको पनि बताएका छन् ।

उनका अनुसार यो बैठकमा नेपालको साथ छोडेका स्थायी कमिटी सदस्यहरु पनि उपस्थित हुनेछन् ।