ओलीले सभामुख विरुद्ध दायर गरेको रिटमा प्रधान न्यायाधीशले दिएनन् अन्तरिम आदेश

Swoniga Online – Rosni | २०७८ भाद्र २२, मंगलबार वर्गीकृत राजनीति

काठमाडौं ।पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको सभामुख विरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। आज प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाको एक इजलासले दुवै पक्षलाई छलफलका लागि भने बोलाएको छ।

प्रधान न्यायाधीश राणाले आज रिटको सुनवाइ आफ्नै इजलासमा राखेका हुन्। भदौ १७ गते अध्यक्ष ओलीले कारवाहीका लागि सिफारिस भएका आफ्ना १४ जना सांसदको नयाँ पार्टी दर्ता सनाखत गरेको विषयलाई लिएर निर्वाचन आयोगविरुद्ध रिट दर्ता गराएका थिए। राणाको इजलासले उनीहरुलाई भदौ २८ गते छलफलका लागि बोलाएको छ।

त्यस्तै, सोही दिन ओलीले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले कारवाहीका लागि सिफारिस गरिएका १४ सांसदलाई कारबाहीको सुचना टाँस नगरेको भन्दै रिट निवेदन सर्वोच्च अदालतमा दर्ता गराएका थिए।

कारवाहीमा परेका १४ सांसदलाई देखाएर माधव नेपालले नयाँ पार्टी नेकपा समाजवादी एकीकृत दर्ता गरेका थिए। एमालले यही विषयलाई लिएर निर्वाचन आयोग र सभामुखदेखि रुष्ट बन्दै आएको छ।