ओली र नेपालको मन मझाउँन को-को हुँदैछन् सक्रिय

Swoniga Online – Rosni | २०७८ श्रावण १९, मंगलबार वर्गीकृत राजनीति

प्रमुख प्रतिपक्षी नेकपा एमालेको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय भइरहेका बेला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट गराउने तयारी भएको छ। 

एमालेको दुवै पक्षका दोस्रो तहका नेताहरुको सक्रियतामा दुई नेताको भेटघाट तयारी भएको हो। असार २७ गते कार्यदलले जुटाएको १० बुँदे सहमतिकै आधारमा दुई नेताबीच थप सहमति जुटाउने कोसिसमा नेताहरु लागेका छन्। 

एमाले स्रोतका अनुसार दुवै पक्षका कार्यदल संयोजक भीम रावल र सुवास नेम्वाङसहित विष्णु पौडेल र सुरेन्द्र पाण्डेले पनि ओली-नेपाल भेट गराएर सहमतिको बिन्दु पहिल्याउने तयारी गरेका हुन्। असार २७ को १० बुँदे सहमतिमै टेकेर दुई नेताबीच सहमतिका लागि दोस्रो तहका नेता जुटेका हुन्। 

एमालेलाई एक बनाएर अघि बढाउन ओली-नेपालबीच शक्ति बाँडफाँटमा सहति जुटाउने गरी भेटघाटको तयारी भइरहेको छ। एमाले उपनेता सुवास नेम्वाङले अध्यक्ष ओलीसँग भेट्न वरिष्ठ नेता नेपाल तयार भएको बताएका छन्। 

'उहाँहरुबीच भेटघाट हुने पक्का भएको छ। दुवैजना भेटघाटका लागि तयार हुनु भएको छ', उपनेता नेम्वाङले भने, 'तर भेट हुने दिन टुंगिएको छैन। हामी एमालेलाई एक बनाउने प्रयासमै छौँ।'

स्रोतका अनुसार विघटित कार्यदलका नेताहरुले सकेसम्म आजै ओली-नेपाल भेट गराउने तयारी गरेका छन्। लामो समयदेखि ओलीले नेपालसँग संवाद गर्न चाहेका थिए। तर नेता नेपालले ओलीले फेरि पनि बेइमानी गर्ने भन्दै भेट्न अस्वीकार गर्दै आएका छन्। 

विघटित कार्यदलका सदस्यहरुले दुई नेताबीच भेट गराउन लामो कोसिस गरेका थिए। तर नेपाल पक्षले गठबन्धन सरकारलाई सघाएपछि एकतामा समस्या देखिएको थियो। तर अब दोस्रो तहका नेताहरुले एकतालाई धेरै अलमल्याएर बस्न नहुने बताएपछि दुवै नेता भेटका लागि तयार भएका हुन्। 

सोमबार मात्रै बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले पार्टी एकतामै जोड दिएको थियो। नेता रघु पन्तका अनुसार बैठकमा बोल्दै नेता नेपालले आफू एकताको पक्षमै रहेको बताएका थिए। उनले आफूलाई एकताविरोधीका रुपमा चित्रित नगर्न पनि भनेका थिए।

उक्त बैठकले एकतामा जोड दिँदै ओली र नेपाल दुवै पक्षका नेताहरुलाई पार्टी एकताविरोधी र उत्तेजक अभिव्यक्ति नदिन पनि आग्रह गरेको थियो।