काँग्रेस महासमिति बैठकः पाँच प्रतिवेदनमाथि सुझाव दिन एक जनालाई पाँच मिनेट

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ९, बुधबार वर्गीकृत राष्ट्रिय

ललितपुर/ गोदावरी ९ फागुन, नेपाली काँग्रेसको जारी महासमिति बैठकमा आज तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ । समूहगत छलफलमा सहभागीहरुले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहनु भएको छ । आफ्ना सुझाव तथा धारणा राख्न एक सहभागीलाई पाँच मिनेटको समय तोकिएको छ । 

सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदुरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल भैरहेको छ । कांग्रेसको महासमिति बैठक फागुन १० गते विहिबारसम्म सञ्चालन हुनेछ ।

समूहगत छलफलमा आज सबै सहभागीहरुले धारणा राख्नुहुने व्यवस्था मिलाइएको प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माले जानकारी गराउनु भयो । ‘‘हामीले महासमिति बैठकमा सहभागी सबै सदस्यहरुको धारणा लिन आवश्यक समयको व्यवस्थापन गरेका छौं । सबै सदस्यहरुले आफ्ना धारणा तथा सुझावहरु राख्न पाउनु हुनेछ । ’’ उहाँले भन्नुभयो ।