कांग्रेस भएको प्रमाण पेश गर्दै गृहसचिव बन्न सचिवहरुको दौड शुरु

Swoniga Online – Rosni | २०७८ श्रावण १८, सोमबार वर्गीकृत राजनीति

मन्त्रिपरिषद् विस्तार लगत्तै ठूलो संख्यामा सचिवहरुको सरुवा गर्ने तयारी सरकारले गरेको छ । सरकारले  केही दिन अघि मात्र ३ जना सचिवको सरुवा गरेको

थियो ।

मन्त्रिपरिषद् विस्तार लगत्तै धेरैजसो मन्त्रालयमा सचिव सरुवा गर्ने सरकारको तयारी भएको स्रोतले बतायो । स्रोतले भन्यो, मन्त्री आएपछि मन्त्रीले आफूलाई सजिलो हुने गरी सचिव छानुन भनेर मन्त्रिपरिषद् विस्तारसम्म सचिव सरुवा गर्न ढिलो भएको हो ।

तर पनि बहालवाला सचिवहरुको चासो गृहमै छ । यसका लागि एक दर्जन भन्दा बढी बहालवाला सचिवहरुले गृहमन्त्री बालकृष्ण खाण कहाँ कुरा पुर्‍याइरहेका छन्। स्रोतले भन्यो, गृहमा सरुवा मिलाउन केही सचिवहरुले केही प्रधानमन्त्रीका निकटहरुसँग पनि भेटघाट बाक्लो पारेका छन् ।

वर्तमान गृहसचिव महेश्वर न्यौपानको सरुवा हुने करिब करिब निश्चित भएको स्रोतले बतायो । त्यसो त, उनले आफू गृहमै थमौती हुन खोजिरहेको बुझिएको छ । तर उनको प्रयास काम नलाग्ने भएको छ । सरुवा भएको खण्डमा उनी संचार वा रक्षा मन्त्रालय जाने इच्छा देखाएका छन् । झण्डै २ वर्षदेखि न्यौपाने गृहमा छन् । सामन्यतया सहसचिव तथा सचिवहरुकोलागि २ वर्ष पर्याप्त समय हो ।

गृहससचिवको नियुक्ति पाउन केही दिन घि मात्र वरिष्ठ सहसचिवबाट सचिवमा बढुवा भएका कृष्णहरि पुस्कर, भुमि व्यवस्था सचिव टेकनारायण पाण्डेको नाम पनि चर्चामा छ ।

पुस्कर यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता हुँदा उनले प्रवक्ताको तर्फबाट डा.गोविन्द केसीलाई पागलको संज्ञा दिंदै विज्ञप्ति निकालेका थिए । यो विषयलाई पुस्करका प्रतिष्पर्धीहरुले जोडतोडले प्रचार गरिरहेका छन् । पुस्कर निकट एक कर्मचारी भन्छन ,‘उहाँले आयोगले गरेको निर्णय प्रवक्ताको हैसियतको बाहिर ल्याउनु भएको मात्र हो । यसमा उहाँ जिम्मेवार हुनुहुन्न ।’ सरकारले पुस्करलाई गृहसचिवमा नियुक्ति गरेमा सचिवमा बढुवा भएपछि पहिलो नियुक्ति काठमाडौंमा पाउने सचिव हुनेछन् उनी ।

त्यसो त, विगतमा मधुसूदन अधिकारी, एकनारायण अर्याल, सूर्य गौतम लगायतका सचिवहरुले पनि सचिवमा बढुवा भएपछि पहिलो नियुक्ति काठमाडौंमै पाएका थिए । सामान्यता सहसचिवबाट सचिवमा बढुवा भएपछि पहिलो नियुक्ति काठमाडौं बाहिर गर्ने परम्परा छ । तर कोहीले भने सचिवमा बढुवा भए पनि पहिलो नियुक्ति काठमाडौमै पाउने गरेका छन् ।

भूमि व्यवस्था सचिव पाण्डेलाई गृहमा अनुभव नभएको र विगतमा पद्मा अर्यालको विश्वासिलो भएको आरोप प्रतिष्पर्धीहरुले लगाएका छन् । यसलाई पाण्डे निकट कर्मचारीहरुले अस्विकार गर्छन । मन्त्री जो भए पनि मन्त्रीसँग मिलेर काम गर्नु सचिवको बाध्यता भएको पाण्डे निकट कर्मचारीहरुको भनाइ छ । पाण्डे विगतमा नेपाल विद्यार्थी संघमा सम्बद्ध भएको पाण्डे निकट कर्मचारीहरुको भनाइ छ । 

गृहसचिवको नियुक्ति पाउन श्रमसचिव सूर्य गौतम, पर्यटन सचिव यादव कोइराला, अख्तियार सचिव तोयाम राय तथा सूदर पश्चिम प्रदेशको प्रमुखसचिव मधुसूदन बुर्लाकोटीको नाम पनि चर्चामा छ । गृहसचिवमा नियुक्ति पाउन गौतम, कोइराला तथा बुर्लाकोटीले प्रधानमन्त्री तथा गृहमन्त्रीसँग पहुँच पुर्या‍उन विभिन्न माध्यमा प्रयोग गरेका छन् । उनीहरुले अहिले आफू लोकतान्त्रिक पृष्ठभूमिको भएको दावी गर्न थालेका छन्–स्रोतले भन्यो ।

वर्तमान वरिष्ठ सहसचिव हरि मैनाली केही दिनमै सचिवमा बढुवा हुने भएका छन् । सचिवमा बढुवा हुने वित्तिकै उनलाई गृहमा ल्याउन एउटा पक्षले तयारी गरेको स्रोतले भन्यो । हरि मैनालीको लोकसेवा अयोगका पूर्व अध्यक्ष उमेश मैनालीबीचमा दाजूभाइ नाता पर्छ ।

राष्ट्रिय योजना आयोगका सचिव केबलप्रसाद भण्डारीको नाम पनि गृह सचिवको रुपमा चर्चामा छ । उनी लोकतान्त्रिक पृष्ठभूमिका हुन् । एमालेले सरकारको नेतृत्व गर्दा उनलाई राम्रो ठाउँमा कहिले पठाइएन । त्यसैगरी प्रदेश २का प्रमुख सचिव गोकर्णमणि दवाडीको नाम पनि चर्चामा छ । पछिल्लो समय दवाडी गृहसचिवको दौडमा त्यती अगाडि बढ्न नसकेको स्रोतले बतायो ।