add

कोभिसिल्डको दोस्रो मात्रा पर्खिरहेकालाई आजबाट एस्ट्राजेनेका खोप दिइने

Swoniga Online – Rosni | २०७८ श्रावण २५, सोमबार वर्गीकृत राष्ट्रिय

काठमाडौं । कोभिसिल्डको दोस्रो मात्रा पर्खिरहेकालाई आजबाट एस्ट्राजेनेका खोप लगाइँदै छ। चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाई बसेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य गरी करिब १४ लाख व्यक्तिलाई जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनेका लगाउन लागिएको हो।

चैतमा अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा लगाइएको थियो। 

दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारतले खरिद गरेको खोप उपलब्ध नगराएपछि दोस्रो मात्रा डोज लगाउन ढिलाई भएको हो।
 
सरकारले दोस्रो मात्रा लगाई बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिलाई लगाउने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौलाले काम नगरी डायलाइसिस गर्नुपर्ने, डायलाइसिस गरेका, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका बिरामीलाई एस्ट्राजेनेका खोप दिने प्राथमिकता राख्ने निर्णय गरेको छ।

खोप लगाउन काठमाडौं जिल्लामा मात्र १४४ वटा खोप केन्द्र तोकिएको छ। यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लक्षित समूहलाई लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। 

यी खोप लगाउन काठमाडौं महानगरपालिकामा १७ वटा खोप केन्द्र तोकिएको छ। यस्तै, कीर्तिपुर नगरपालिकामा १०, चन्द्रागिरी नगरपालिकामा १५, नागार्जुन नगरपालिकामा १०, तारकेश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९, बूढानीलकण्ठ नगरपालिकामा १३, टोखा नगरपालिकामा ११, गोकर्णेश्वर नगरपालिकामा ९ र कागेश्वरी मनोहरा नगरपालिकामा ९ वटा खोप केन्द्र तोकिएको छ। 

महानगरपालिकाको हकमा राधास्वामी आइसोलेसन सेन्टर, बालाजु, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल र परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पतालमा पनि खोप लगाउन सकिने कार्यालयले जनाएको छ।