add

चाँगुनारायण फास्ट ट्रयाकको लागि स्रोत सुनिश्चितता

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १३, शनिबार वर्गीकृत राष्ट्रिय

ललितपुर/ १३ माघ, बागमती प्रदेश सरकारले चाँगुनारायण फास्ट ट्रयाकको लागि २० करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ । चाँगुनारायण नगरपालिकाको १ वडा देखि ९ वडा ४ र ६ बाहेक जोड्ने उक्त मार्गका लागि दोस्रो चरणको कामका लागि बागमती प्रदेश सरकारबाट बहुवर्षिय योजना पारित गर्दै २० करोडको स्रोत सुनिश्चितता गरेको हो ।
बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ ,मुख्यमन्त्री सालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको पहलमा पहलमा उक्त स्रोत सुनिश्चित भएको हो ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चाँगुनारायण फास्ट ट्र्याकलाई २० करोड श्रोत सुनिश्चित गरी पढाएको प्रस्तावलाई आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वीकृति दिएको छ ।
चाँगुनारायण फास्ट ट्र्याकलाई पहिलो प्राथमिकता पी वान  सडकका रूपमा बहु वर्षीय परियोजनाको रूपमा अगाडि बढाउन रु २० करोडको स्रोत सुनिश्चितता गरिएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले चाँगुनारायण नगर क्षेत्रको गौरवको योजनाका रूपमा रहेको उक्त योजना कार्यान्वयनमा बागमती प्रदेशका मुख्य मन्त्री, भौतिक योजना मन्त्री तथा आर्थिक मामिला मन्त्रीले पुञ्याउनुभएको योगदानका लागि धन्यवाद समेत दिनुभयो ।
उक्त सडकको पहिलो चरणमा वडा नम्वर ९ देखि ८ सम्मको ८० प्रतिशत सडक कालोपत्रे भई सकेको छ भने वडा नम्वर ८ को केही भाग देखि अन्य क्षेत्रमा आगामी बजेटमा काम हुने छ ।
 चाँगुनारायण १ को सरस्वती खेल देखि वडा नम्बर ९ को ताथली सम्म करिब १९ किमी लम्बाई हुने यो फास्ट ट्र्याक ४ र ६ बाहेक चाँगुनारायणको सबै वडामा पुग्नेछ भने यसले ४ र ६ का शाखा बाटो पनि छुनेछ र चाँगुनारायणको सबै वडालाई एक आपसमा जोड्ने छ । यसले काठमाडौँसँग चाँगुनारायणको दुरी पनि घटाउने छ । यो सडक भौतिक सुविधाको दृष्टिले मात्र नभई कृषि उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धनमा समेत कोशेढुंगा साबित हुने अपेक्षा गरिएको छ ।