चिरिबाबुको स्वार्थले ज्यापू समाजमा चिरै चिरा

Swoniga Online | २०७८ आश्विन २३, शनिबार वर्गीकृत स्थानीय-समाज

पूर्वअध्यक्षहरुको गुटद्वारा बलजफ्ती 

स्वनिगः अनलाईन, काठमाडौं ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको राजनीतिक महत्वाकांक्षाको परिपूर्तिका निम्ति ज्यापू समाज यलको नयाँ कार्यसमिति चयनमा पूर्वअध्यक्षहरुको गुटले बलजफ्ती गरेका छन् ।

पूर्वअध्यक्ष समेत रहनुभएका मेयर महर्जनको नितान्त वैयक्तिक राजनीतिक आकांक्षा ज्यापू समाज यलको सांगठनिक प्रभावलाई दुरुपयोग गरी परिपूर्ति गर्ने सोच राखेर सोे गुटले बलजफ्ती गरेका हुन् । ज्यापू समाज यल पाटनका ४० परम्परागत ज्यापू टाेलकाे साझा र प्रतिनिधि संस्था हाे ।

चुनावको लागि आफूले जे भनेपनि मान्ने (एस म्यान) र चुनावमा आर्थिक जोहो गर्ने र परिआएको खण्डमा गुण्डा परिचालन समेत गर्ने मानिसको जरुरत हुने गर्दछ । चुनावमा सहजै चढ्न सकिने घोडाको रुपमा तीर्थलाल महर्जनलाई ल्याउन पूर्वअध्यक्षको गुटले बन्दसत्रमा नांगो हस्तक्षेप गरेका थिए ।

कुलाल डंगोलको संयोजनमा पूर्वअध्यक्षहरुको संरक्षक परिषद रहेको छ । सो परिषद्मा पूर्वअध्यक्षको हैसियतले  मेयर महर्जन, अधिवक्ता मंगल महर्जन लगायत सात जना सदस्य रहेका छन्।हरेक अधिवेशनमा नयाँ कार्यसमिति चयन गर्दा ति नै पूर्वअध्यक्षहरु हावी हुँदै आएका छन् । पूर्वअध्यक्षको गुटले भित्रभित्रै वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनलाई अध्यक्ष हुनबाट रोक्नको लागि अनेक तिकडम र षडयन्त्र गरेका थिए। सन्तमानलाई फेरी वरिष्ठ उपाध्यक्षमै चित्त बुझाउन पूर्वअध्यक्षहरुले लगातार दबाब, भावनात्मक रुपमा शोषण र अनेक तिकडम गर्दै आएका थिए । 

असोज १५ गते शुक्रबार भएको बन्दसत्रमा संरक्षकहरुको तर्फबाट बोल्ने क्रममा संयोजक कुलाल डंगोलले पूर्वअध्यक्षहरु सातै जनाको सहमति भनेर अध्यक्षमा तीर्थलाल महर्जनको नाम प्रस्तावित गर्नुभयो । त्यसमा अधिकाशं प्रतिनिधिले विरोध जनाएका थिए ।  सहमतिको प्रयास गर्ने भन्दै वार्ताको नाटक रचियो । पूर्वअध्यक्षहरुको गुटले अनेक तिकडम गर्दा पनि वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनलाई अध्यक्ष बनाउने अडानमा हौगल टोलका अध्यक्ष र प्रतिनिधिहरु एक इन्चपनि टसमस भएन ।

पूर्वअध्यक्षको दबाबमा निर्वाचन मण्डलका संयोजक अधिवक्ता चन्द्रबहादुर महर्जनले नयाँ कार्यसमितिको नामावली वाचन गर्नुभयो । त्यसबीचमा सुनियोजित तरिकाले जम्मा पारिएका मुस्किलले १० , १२ जना युवाहरुले निकै तनाव र होहल्लाको वातावरणका बीच ‘ताली भनेर’ ताली बजाउन थाले । बन्दसत्रमा सहभागी अधिकाशं सदस्य टोलका अध्यक्ष र प्रतिनिधिले विरोध जनाए । पूर्वअध्यक्ष डंगोलले वाचन गर्दा विरोध भएकै प्रस्तावित नामावली पुनः अधिवक्ता महर्जनले दोह¥याएर वाचन गरिएपछि ‘यसमा हाम्रो मञ्जुरी छैन’ भनेर सभामा हुटिङ भएको थियो । त्यसपछि भनाभन हुने क्रम चल्न थाल्यो।झन्डै झन्डै हात हालाहाल  हुने अवस्था निम्तियो ।बन्दसत्रको माहौल निकै तनावपूर्ण रह्यो ।

त्यसपछि निर्वाचन मण्डलका संयोजकले पुनः सहमतिमा नाम प्रस्तावित गर्ने भन्दै केही समयको लागि सभा स्थगित गरेका थिए ।सभा स्थगित गरिएपछि सहमतिको लागि कुनै पहल भएन। यो त समय लम्ब्याउने फगत चाल मात्र थियो ।निकै रात परिसकेको थियो । मध्यराति करिब १ः ४५ को समयमा निर्वाचनको प्रक्रिया अहिले हुँदैन भन्ने अनुमान गरी अधिकाश सहभागीहरु आफ्नो घर फर्किसकेका थिए । त्यसपछि प्रस्तावित कार्यसमितिको नामावली अनुमोदन नै नगरी करिब करिब २ः ३० देखि ३ बजेको बीचमा शपथ ग्रहण गराइयो । शपथ ग्रहणमा मात्र चिरिबाबुसहित पूर्वअध्यक्ष र ताली बजाउने युवाहरुको उपस्थिति रहेको थियो । कार्यसमितिमा रहेका वरिष्ठ उपाध्यक्ष महर्जन, प्रथम उपाध्यक्ष मोहन व्यञ्जनकार, तृतीय उपाध्यक्ष किरण डंगोल, कार्यसमिति सदस्य शर्मिला महर्जनले यस अघि नै सभा वहिष्कार गरी निस्किसकेका थिए । नयाँ निर्वाचित कार्यसमितिको माइन्युट पनि उठाउन सकेको छैन ।

परम्परा तोडियो

कार्यसमिति भित्रैबाट सामान्यतयाः वरियताक्रम अनुसार अध्यक्ष चयन गर्ने विधिलाई समाजले स्थापनाकालदेखि संस्थागत गर्दै आएको थियो। समाजको दसौं महाधिवेशन र २८ औ साधारण सभापछि सो अभ्यास अनुरुप अध्यक्ष हुन पालो वरिष्ठ उपाध्यक्ष महर्जनकै थियो।२७ वर्षदेखि समाजमा सक्रिय पूर्वक काम गर्दै आउनुभएका महर्जन अध्यक्ष बन्ने पालो आउँदा नेतृत्व चयन गर्ने संस्थागत परम्परालाई तोडिएको हो ।

असन्तुष्टि सम्बोधन भएन

नेतृत्व चयनको विषयमा सहमति हुन नसकेर यस अघि भदौं २६, असोज १ गते बोलाइएको बन्द सत्र स्थगित गरिएको थियो।तेस्रो पटक असोज १५ गते शुक्रबार बोलाइएको थियो।शुक्रबार दिउँसो २ बजे शुरु भएको बन्दसत्र राति अबेर सम्म चलेको थियो।पटक पटकको बन्दसत्रमा उठेका प्रश्न, गुनासोको केही जवाफ दिइएन । बन्दसत्रमा न समाजको कमीकमजोरी सुधार गर्दै जाने विषयमा सार्थक बहस नै भयो । नटोल लगायत विभिन्न सदस्य टोलले उठाउँदै आएको प्रश्न, गुनासो र असन्तुष्टिको कुनै सम्बोधन नगरी उल्टै आफूले आफैलाई अक्षम अध्यक्षको घोषणा गरी अध्यक्ष चन्द्र महर्जनले हठात ढंगले सभा समापन भएको घोषणा गर्नुभयो।

शक्ति केन्द्रको दबाब

साधारण सभाअघिसम्म अध्यक्ष महर्जनले समाजको अबको अध्यक्ष सन्तमान महर्जन नै भनेर कार्यसमिति बैठकमा सर्वसम्मत रुपमा अनौपचारिक निर्णय गराउनुभएको थियो । राज्यका उच्च ओहोदामा रहेका व्यक्तिहरुसंगको  भेटघाटमा अध्यक्षले सन्तमान महर्जनलाई नै भावि अध्यक्षको रुपमा चिनाउँदै आएका थिए।तर पूर्वअध्यक्षसहित विभिन्न शक्तिकेन्द्रको दबाबले गर्दा अध्यक्ष महर्जन आफ्नो वचनबाट पछि हट्न बाध्य भएको बुझिएको छ ।

कार्यसमितिमा काँग्रेसका कार्यकता

नयाँ कार्यसमितिका रहेका अध्यक्ष तीर्थलाल महर्जन सहित नयाँ अनुहारहरु सबैजसो नेपाली काँग्रेसका क्रियाशील सदस्य वा कार्यकता रहेका छन्।

कार्यसमितिका नयाँ अनुहारहरुमा प्रमिला महर्जन, मञ्जु महर्जन, रमिता महर्जन, बुद्ध महर्जन, दिनेश महर्जन, मदन महर्जन र रत्नमान महर्जन रहनुभएको छ । प्रमिला नेपाली काँग्रेसबाट निर्वाचित ललितपुर - २० वडाका महिला सदस्य हुनुहुन्छ । मञ्जुले २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट ललितपुर- १७ वडामा उम्मेदवारी दिनुभएको थियो ।समाजको नेतृत्व चयनको परम्परा तोडेर राजनीतिक रुपमा विभाजन गर्न उस्काउने कार्यमा उहाँहरुले सहयोग पु¥याएको देखिन्छ ।काँग्रेस पृष्ठभूमीका केही सदस्यहरु पर्नुलाई संयोग मान्न सकिएला, तर लगभग अधिकाशः काँग्रेसका क्रियाशील सदस्यहरु र कार्यकताहरु कार्यसमितिमा पर्नुलाई आकस्मिक मान्न नसकिने बन्दसत्रका सहभागीहरु बताउँछन् । ‘ त्यसमा पनि अघिपछि समाजमा खासै क्रियाशील नभएका मानिसहरु रहेका छन्।‘काँग्रेसका कार्यकर्ताहरु मात्र पर्नु सुनियोजित कदम हो।’ बन्दसत्रका सहभागीहरु भन्छन् ।केही व्यक्तिको स्वार्थको लागि काँग्रेसको आवरणमा छापामार शैलीमा समाजको नेतृत्व कब्जा गरिएकोमा काँग्रेसका अरु कार्यकताहरु पनि खुशी छैनन् । यसले पार्टीलाई समेत बदनाम बनाएको अर्थमा उनीहरुले लिएका छन् । 

निर्वाचन अधिकृतद्वारा राजिनामा 

पूर्वअध्यक्षको दबाबमा अवैध कार्यसमितिलाई निर्वाचन मण्डलबाट जबरजस्ती अनुमोदन गराउन खोजिएपछि निर्वाचन अधिकृत दुई जनाले राजिनामा दिएका छन् ।

निर्वाचन अधिकृतद्वय अधिवक्ता नानीछोरी महर्जन, अधिवक्ता सागर सुवाः व्यञ्जनकारले दबाबका बीच काम गर्ने वातावरण नभएको भन्दै सभाहलबाट निस्किनुभएको हो । अधिकृत नानीछोरी महर्जनले दबाबका बीच निर्वाचनको विधि र प्रक्रिया अनुरुप काम गर्ने वातावरण नभएको, प्रस्तावित उम्मेदवारहरु समेत सभा हल वहिष्कार गरी फर्किसकेको, गणपुरक संख्या नपुगेको, मतदाता नामावली, उम्मेदवार मनोनयन लगायत निर्वाचन कार्यक्रम नगरी जबरजस्ती कार्यसमिति घोषणा गर्न नसकिने भन्दै लिखित रुपमा नै निर्वाचन अधिकृतबाट राजिनामा दिएका थिए ।

सदस्य टोलद्वारा वहिष्कार

बहुमतको भावना विपरीत पूर्वअध्यक्षहरुको गुटले नांगो हस्तक्षेप गरेपछि सभा वहिष्कार भन्दै विभिन्न टोलका अध्यक्ष र प्रतिनिधिहरु सभाहलबाट धमाधम बाहिर निस्किएका थिए । शुरुमा नटोलका अध्यक्ष एवं प्रतिनिधि कदमलाल महर्जन सभा वहिष्कार भन्दै बाहिरिए । त्यसक्रममा सन्तमान महर्जन पनि सभा वहिष्कार भन्दै सभाहलबाट निस्किनुभयो। त्यसपछि नोट अफ डिसेन्ट भन्दै हौगल टोलका प्रतिनिधि बाहिरिए। यतिकैमा च्यासल, तःननी लगायत विभिन्न सदस्य टोलका नाईके र प्रतिनिधिहरु बाहिरिएका थिए। कार्यसमितिमा दोह¥याएर राखिएका पदाधिकारी पनि सभा हलबाट निस्किएका थिए । 

सबैतिरबाट भत्र्सना

समाजका पूर्वअध्यक्षहरुको नांगो हस्तक्षेपका कारण समाजको एकताको भावनामा चिरैचिरा प¥यो भन्दै विभिन्न टोलका सचेत प्रतिनिधिहरुले असन्तुष्टि पोखेका छन् । उनीहरुले व्यक्ति विशेषको राजनीतिक र आर्थिक स्वार्थको लागि पूर्वअध्यक्षको हठ र अनेक छलले समाजको परम्परामाथि ठाडो प्रहार गरी राजनीतिक रुपमा विभाजन गर्न खोजिएको भन्दै सो कदमको निन्दा गरेका छन् । उनीहरुले असोज १५ गतेको रात समाजको इतिहासकै कालो रातोको संज्ञा दिएका छन् ।