add

जसपा विवाद : यादव भन्छन्-छुट्टै विचारधारा बोकेर हिँड्नेलाई संसदीय दलको बैठकमा किन बोलाउने ?

Swoniga Online – Rosni | २०७८ श्रावण ५, मंगलबार वर्गीकृत राजनीति

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को भट्टराई–यादव समूहले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । 

उनले अर्का अध्यक्ष महन्थ ठाकुर समूहलाई आजको बैठकबारे बोलाउन आवश्यक नभएर नबोलाएको पनि बताए । ‘आज हाम्रो संसदीय दलको बैठक बस्दै छ । बैठक बसेपछि एजेण्डा तय हुन्छ,’ उनले भने, ‘संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल हुन्छ ।’ 

बैठकमा महन्थ ठाकुर समूहका सांसदहरु पनि सहभागी हुनुहुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘उहाँहरु र हाम्रो त बाटो अलग–अलग होनि । गन्तव्य, बाटो, यात्रा सबै अलग अलग हो । विचारधारा पनि अलगै हो । एक ठाउँ आउन त हाम्रो विचारमा उहाँहरु सहमत हुनुपर्यो ।’ आजको बैठकमा भट्टराई–यादव समूहले संसदीय दलको नेता चयन, सरकारमा सहभागी हुँदा कसरी प्रस्तुत हुनेलगायतका विषयमा छलफल हुने बताइएको छ ।  

भट्टराई–यादव समूह जसपाले शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि अहिले आफ्नो समूहमा क–कस्लाई मन्त्री बनाउने भन्ने विषयमा छलफल तीव्र बनाएको छ ।  जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुर समूहले पनि देउवालाई विश्वासको मत भने दिएको थियो । आजको बैठकमा पार्टीको विधानमाथि छलफल गरेर पारित गर्ने तयारी छ । विधान पारित भएपछि यो समूहले संसदीय दलको नेता चयन गर्ने छ । 

ठाकुर समूहले यसअघि नै नेता राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता चयन गरेको छ । यो समूहले प्रतिनिधि सभाका बहुमतका सदस्यको हस्ताक्षरले महतोलाई दलको नेता चयन गरेको दाबी गरिएको छ । जसपा आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोगको इजलासमा विचाराधीन छ ।  यादव समूहले महतोलाई संसदीय दलको नेता मान्न नसक्ने बताउँदै आएको छ ।