जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट,तपाईलाई पर्यो कि परेन यहाँ बाट यसरी हेर्नुहोस्

Swoniga Online – Rosni | २०७८ आषाढ २३, बुधबार वर्गीकृत आर्थिक

जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । आज बिहान १० बजे विक्री प्रवन्धक एनएमबी क्यापिटलमा लघुवित्तको आइपीओ बाँडफाँट गरिएको हो । 

क्यापिटलका अनुसार ८४ हजार ८०१ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । तीमध्ये भने भाग्यमानी ५ जनाले थप १ कित्ता अर्थात् ११ कित्ताका दरले सेयर पाएका छन् । आवेदन दिएका १८ लाख ३३ हजार ५०७ जनाको भने हात रित्तो भएको छ ।

लघुवित्तको आइपीओमा कुल २० लाख ८७ हजार ३१७ जनाले आवेदन दिएका थिए । जसमध्ये ६९ हजार ९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

लघुवित्तले असार ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । निष्काशित कुल सेयरमध्ये ३० हजार ४२० कित्ता लघुवित्तका कर्मचारी, ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोष र १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।

हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख खुद मुनाफा कमाएको छ । ४१ करोड ६ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।

चैत मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी १३७.३२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ३८८.२९ रुपैयाँ छ ।

 कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट र जीवन विकास लघुवित्तको वेबसाइटबाट पनि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।