add

ठगी धन्दा बढ्दै, युरोपेली देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

Swoniga Online – Rosni | २०७८ भाद्र १०, बिहिबार वर्गीकृत राष्ट्रिय

काठमाण्डौ । पछिल्लो समय युरोपेली देश पठाइदिन्छु भन्दै ठगी गर्नेहरु बढेका छन् । राम्रो कमाइ हुने भन्दै रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणबाट मोटो रकम असुल्ने र फरार हुने क्रम बढिरहेको छ ।

यसरी नै प्रलोभन देखाएर युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरुसँग नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाण्डौको कोटेश्वर बस्ने रामेछाप गोकुलगंगा–३ का ३३ वर्षीय पोशबहादुर सुनुवारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–९ ज्याम्दीका ६ जनालाई कामदार भिसामा युरोपेली देश लिथुआनिया पठाइदिने भन्दै ठगी गरेका हुन् । उनले लिथुआनिया जान प्रतिव्यक्ति ७ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि होटलमा काम लगाइदिन्छु भनी विश्वासमा पारी ६ जनाबाट प्रति व्यक्ति १ लाखको दरले ६ लाख रुपैयाँ मागेका प्रहरीले जनाएको छ ।

सबैबाट पैसा उठाइ सम्पर्क विहीन भई ठगी गरेको घटनामा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानका लागि लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाण्डौ पठाइएको महाशाखाले जनाएको छ ।