दोहोरो अंकले नेप्से घट्दा पनि धेरै मूल्य बढ्ने यी हुन् ८ कम्पनी

Swoniga Online – Rosni | २०७८ आषाढ २१, सोमबार वर्गीकृत आर्थिक

सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार साढे ८ अंक्ले घटेको बजार आज लगातार दोस्रो दिन पनि ओरालो लागेको हो । सूचकसँगै कारोबार रकममा पनि भारी घटेको छ । दुई साता अघिसम्म औसतमा दैनिक १० अर्ब बढीको कारोबार हुँदै आएकोमा घटेर साढे ४ अर्बमा सीमित भएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै अर्थतन्त्र क्रमशः चलायमान हुन थालेपछि अल्पकालीन लगानीकर्ताले पूँजी झिकेर अन्य क्षेत्रमै लगानी गर्न थालेपछि कारोबारमा ह्वात्तै गिरावट आएको अनुमान गरिएको थियो । साथै लगानीकर्ता मौद्रिक नीति नआउन्जेल पर्ख र हेरको अवस्थामा रहेकाले पनि कारोबारमा गिरावट आएको आँकलन गरिएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ११.७८ अंकले घटेर २८२२.७४ विन्दुमा आइपुगेको छ । आज २२४ कम्पनीको ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७९ रुपैयाँ बराबरको १ करोड ६३ हजार ६३६ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएका छन् । उत्पादनमूलक समूह सबैभन्दा धेरै ३.९० प्रतिशतले बढेको छ । यस्तै, व्यापार समूह पनि ३.६१ प्रतिशतले बढेको छ भने हाइड्रोपावर र फाइनान्स समूह २ प्रतिशतभन्दा धेरैले घटेको छ । आज कारोबारमा आएका २२४ कम्पनीमध्ये ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको मूल्यमा गिरावट आएको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा माथिल्लो तामाकोशी १९ र नेपाल बैंक १५ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे । दोहोरो अंकले घटेको बजारमा आज विशाल बजार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।

यस्तै, हिमालयन डिस्ट्रीलरी ८.०२ प्रतिशत, छ्याङदी हाइड्रो ७.७८, गुडविल फाइनान्सको डिबेन्चर ५.६३, सीईडीबी हाइड्रोपावर ५.३१, नेपाल ल्युब आयल ४.९८, एचआइडीसीएल र नारायणी विकास बैंकको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ । घट्दो बजारमा आज गोर्खा फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशतले घटेको छ ।