नयाँ दलको नाम परिवर्तन गर्ने नेपालको तयारी

Swoniga Online – Rosni | २०७८ भाद्र ४, शुक्रबार वर्गीकृत राजनीति

काठमाडौँ  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तावित नयाँ दलको नाम परिवर्तन गर्ने भएका छन् । यसका लागि निर्वाचन आयोगमा पुन: दल दर्ताको निवेदन दिने उनको तयारी छ । 

बुधबार मात्रै नेपालसहितका नेताहरूले नेकपा एमाले समाजवादी नामको दल दर्ता गर्न निवेदन दिएका थिए । गत फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का विषयमा सर्वोच्च अदालतले गरेको फैसलाका कारण नाममा एमाले शब्द राख्न कानुनी अड्चन आउने देखिएपछि परिवर्तन गर्न लागिएको हो ।

नयाँ नाम नेकपा एकीकृत समाजवादी वा नेकपा समाजवादी राख्ने विषयमा छलफल चलिरहेको नेपालनिकट नेताहरूले बताएका छन् । "नामसहितको विषयमा कुनै प्रकारको कानुनी समस्या नआओस् भनेर आवश्यक निर्णय गर्ने जिम्मेवारी आयोगमा जाने नेताहरूलाई दिएका छौं," केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, "नाम जुध्यो भने फेर्नुपर्ने हुन्छ । त्यसका लागि नेकपा एकीकृत समाजवादी वा नेकपा समाजवादी राख्ने विषयमा छलफल भइरहेको छ ।"

खतिवडाले पुनस् निवेदनका लागि नेपालसहितका नेताहरू आजै आयोग जाने कार्यक्रम रहेको पनि जानकारी दिए । राष्ट्रपतिले बुधबार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेअनुसार नियमावली संशोधन नहुँदा नयाँ दल दर्ताको प्रक्रिया अघि बढ्न सकेको थिएन । बिहीबार साँझ मात्रै संशोधित नियमावली राजपत्रमा प्रकाशित गरिएको थियो । नेपालले ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेका छन् ।