नवनियुक्त सदस्य सचिव घिसिङलाई ओलम्पिक कमिटीमा स्वागत

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ मङ्सिर २१, मंगलबार वर्गीकृत खेलकुद

नेपाल ओलम्पिक कमिटीले सोमबार एक विशेष कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको स्वागत गरेको छ । सातदोबाटो स्थित ओलम्पिक भवनमा भएको कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सदस्य सचिवको कार्यकालको सफलताको कामना गर्नु हुँदै नेपाली खेलकुदका दुई सर्वोच्च निकाय कमिटी र परिषदबीच सहकार्य गर्नु पर्नेमा जोड दिनु भयो ।

सदस्य सचिव घिसिङले आफ्नो नियुक्तिसँगै राष्ट्रिय टिमको तयारी सुरु गर्ने निर्णय भइसकेको बताउनु भयो । कार्यक्रममा ओलम्पिक कमिटीका अन्य प्रमुख पदाधिकारीको पनि उपस्थिति रहेको थियो । त्यसपछि कमिटी र परिषदबीच १९ औं एसियाली खेलकुदमा नेपालको सहभागितालाई लिएर प्रारम्भिक छलफल भएको थियो । प्रतियोगिता चीनको हाङचोउमा सेप्टेम्बर १० देखि २५ सम्म हुनेछ ।

छलफलमा कमिटीका तर्फबाट अध्यक्ष श्रेष्ठ र परिषदका तर्फबाट सदस्य सचिव घिसिङले सहभागिता जनाउनु भयो ।

छलफलमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य पनि सहभागी हुनु भएका थिए । त्यस अवसरमा प्रतियोगितामा सहभागी हुने खेल र खेलाडीको संख्या पहिले निर्धारण गर्नेबारे छलफल भएको थियो ।

यस्तै नेपाल सहभागी हुनु पर्ने खेल, त्यसको सम्भावना तथा उच्च प्रदर्शनको आवश्यकतालाई लिएर विस्तृतमा छलफल भएको थियो । त्यस अवसरमा नेपाल सहभागी हुने अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताबारे पनि छलफल भएको थियो । यस्तै छलफलमा परिषदका उच्च पदाधिकारीको पनि उपस्थिति थियो ।