add

न्युरोडकाे जनप्रतिनिधि र जनतालाई बेवास्ता गरेर गरेकाे निर्णय मान्य हुँदैन - अध्यक्ष महर्जन

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २६, शुक्रबार वर्गीकृत स्थानीय-समाज

काठमाडौं/२६ माघ, काठमाडौं महानगरपालिका वडा नं. २२ का अध्यक्ष चिनिकाजी महर्जनले  न्युरोडकाे जनप्रतिनिधि र जनतालाई बेवास्ता गरेर गरेकाे निर्णय मान्य नहुने बताउनु भएको छ । चार पाङ्गे तथा दुई पाङ्गे सवारी पार्किङ्ग निषेश गरिएको प्रति असहमति ब्यक्त गर्दै बिहिवार पत्रकार सम्मेलन गरेर अध्यक्ष महर्जनले असहमतिकाे जानकारी गराउनु भएको हाे । 

काठमाडौं महानगरपालिकाको वडा नं २२ र २४ मा रहेका सडकहरुमा बि. सं. २०७६ साल अघि निःशुल्क र त्यसपछि महानगरले नियुक्त गरेको ठेकेदार मार्फत शुल्क उठाउने गरी सञ्चालन भई रहेको थियोे । पाईलट प्रोजेक्टको नाममा स्थानीय वडाका जनप्रतिनिधिको असहमतिका बावजुत बि. सं. २०७६ मा विद्यासुन्दर शाक्य नगरप्रमुख रहेकाे समयमा बिना टेण्डर सशुल्क पार्किङका लागि अनुमति दिइएको थियाे ।


"महानगरपालिकाद्वारा नियुक्त ठेकेदारले सवारी तथा पैदल आवागमनलाई पटक्कै ध्यान नदिई बढी भन्दा बढी संख्यामा पार्किङ्ग गराई पैसा असुल्ने मात्र कार्य गरि रहेको कारण उक्त क्षेत्रको ट्राफिक ब्यबस्था पुरै ध्वस्त भई जन जीवन नै अस्त व्यस्त भई रहेको थियो । उक्त ठेकेदारसंगको करार समाप्त गरिनु स्वागत योग्य भएता पनि उसको असमक्षताको कारण उत्पन्न समस्या समाधानको नाममा उक्त क्षेत्रको पार्किङ्ग नै हटाउनु कुनै पनि अर्थमा तर्क संगत देखिन आएन ।" वडा अध्यक्ष महर्जनले भन्नुभयो ।
वडा अध्यक्षकाे असहमतिलाई बल पुग्नेगरी स्थानीय राजनीतिक दल, संघ संस्था तथा व्यापार संघहरुले समेत साथ रहेकाे जनाइएको छ। धार्मिक, सांस्कृतिक, आर्थिक, राजनैतिक तथा ऐतिहासिक दृष्टिकोणबाट राष्ट्रिय रुपमा अत्यन्त महत्वपूर्ण उक्त स्थानको समग्र जनजीवनको संबेदनशीलता र सन्तुलनलाई बेवास्ता गरी पार्किङ हटाइएकोमा असहमति ब्यक्त गर्दै स्थानीयले यही माघ १८ गते वडा अध्यक्षलाई पत्र बुझाएका थिए । साेही आधारमा अध्यक्ष महर्जनले स्थानीयकाे ध्यानाकर्षणका बारेमा बिहिबार पत्रकार सम्मेलन गरेर सार्वजनिकिकरण गर्नुभयाे । "न्युरोड क्षेत्रकाे बिभिन्न आयामहरुमा दीर्घकालीन नकारात्मक असर पर्ने गरी महानगर बोर्डमा छलफल निर्णय नगरी, स्थानीय वडाका जन प्रतिनिधिहरुलाई जानकारी समेत नगराई, महानगर प्रमुखद्धारा एकलौटी ढंगले उक्त पार्किङ्ग हटाउने कार्य भएको देखिएको हुँदा त्यस प्रकारको गैर जिम्मेवार कृत्यको हामी बिराेध गर्न चाहन्छौं ।" स्थानीयले वडा अध्यक्षलाई बुझाएको पत्रमा उल्लेख छ ।