add

पत्रकार राष्ट्रिय दबू काभ्रेको साधारणसभा सम्पन्न

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २०, शनिबार वर्गीकृत राष्ट्रिय

काभ्रे/२० माघ, देशभरका नेवार पत्रकारहरुलाई पछिल्लो समय साधारणसभाको चटारो छ । यही क्रममा शनिबार नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे जिल्ला शाखाले पाँचौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । काभ्रेको बनेपामा आयोजित कार्यक्रममा केन्द्रीय अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले समावेशी सञ्चार, मातृभाषा पत्रकारितादेखि पत्रकारहरुको क्षमता बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। व्यावसायिक पत्रकारिताको आवश्यकतालाई औंल्याउँदै संस्थागत रुपमा अघि बढ्न अपिल समेत गर्नुभयो।
“धर्मादित्य धर्माचार्य आदिवासी जनजाति मध्येका सबसे पुराना मातृभाषी पत्रकार हुनुहुन्थ्यो । करिव एक सय वर्ष अघि उहाँले बुद्धधर्म नामको पत्रिका प्रकाशन गर्नुभएको थियो । यो तथ्यलाई नेपाल आदिवासी जनजाती पत्रकार महासंघले समेत स्वीकार गरेको छ । अब ०८१ सालको बुद्धजयन्तीदेखि प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको स्मरणमा वार्षिक कार्यक्रम घोषणा गरेका छौं ।” अध्यक्ष श्रेष्ठको भनाइ थियो । अध्यक्ष श्रेष्ठले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको दाबी गर्दै पत्रकारहरुलाई २००८ सालमै संगठित बनाएको स्मरण गर्नुभयो ।
त्यस्तै, ४१ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील रहनुभएका वरिष्ठ पत्रकार मोहन दुवालले पत्रकारलाई दिइने भनिएको पेन्सनको कार्यविधि संशोधन गर्न समेत माग गर्नुभयो । ''मैले जनमत साहित्यिक पत्रिकादेखि नेपाल समाचारपत्र दैनिकमा लामो समय काम गरें । पत्रकारितामै जीवनको चार दसक बिताएँ । यसमा मलाई गौरव महसुस हुन्छ । तर म पत्रकार भएको प्रमाणित गर्न सम्बन्धित वडा कार्यालयले सिफारिस गर्नुपर्ने रहेछ ।'' दुवालको असन्तुष्टि रहेको छ । सबैलाई थाहा भएको विषय सम्बन्धित निकायले छनोट गर्नुपर्नेमा उल्टै वडाबाट सिफारिस लिएर पत्रकार भएको प्रमाणित गर्नुपर्ने कार्यविधि गलत भएको दुवालको तर्क रहेको छ ।
पत्रकार राष्ट्रिय दबू काभ्रे जिल्लाका अध्यक्ष सोमकाजी शाक्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, केन्द्रीय सल्लाहकार तथा वरिष्ठ पत्रकार मोहन दुवाल, सूर्यप्रसाद लाकोजु, पत्रकार राष्ट्रिय दबूका उपाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ, महासचिव केके मानन्धर, सहसचिव विजयराम कर्माचार्य, सदस्य अनुप प्रधान, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री तिमिल्सिना, प्रेस युनियन काभ्रे, प्रेस चौतारी नेपाल काभ्रे, प्रेस सेन्टर काभ्रेका प्रतिनिधि, काभ्रे क्याम्पसका प्रमुख, प्राचार्य, हलिं नेवाः दबूका उपाध्यक्ष, पत्रकार राष्ट्रिय दबू काभ्रेको सिङ्गो कार्यसमिति सहभागी थियो ।