पत्रकार राष्ट्रिय दबू भक्तपुरको साधारणसभा सम्पन्न

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत राष्ट्रिय

देशभरका नेवार पत्रकारहरुलाई पछिल्लो समय साधारणसभाको चटारो छ । यहि क्रममा मंगलबार नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाले सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । यसअघि काभ्रे जिल्ला शाखाले फागुन ८ गते कार्यक्रम गरेको थियो । चैत महिनाको केन्द्रिय साधारणसभा अघि देशभरका २४ जिल्लामा बिस्तार गरिएका पत्रकार राष्ट्रिय दबूका शाखाहरुमा कार्यक्रम भइरहेको छ ।
भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा केन्द्रिय अध्यक्ष सुरजवीर बज्राचार्यले समावेशी सञ्चार, मातृभाषा पत्रकारितादेखि पत्रकारहरुको क्षमता बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । व्यावसायिक पत्रकारिताको आवश्यकतालाई औँल्याउँदै संस्थागत रुपमा अघि बढ्न अपिल समेत गर्नुभयो ।
“धर्मादित्य धर्माचार्य आदिवासी जनजाति मध्येका सबसे पुराना मातृभाषी पत्रकार हुन् । करिव एक सय वर्ष अघि उहाँले बुद्धधर्म नामको पत्रिका प्रकाशण गरेका छन् । यो तथ्यलाई नेपाल आदिवासी जनजाती पत्रकार महासंघले समेत स्वीकार गरेको छ ।” अध्यक्ष बज्राचार्यको भनाइ थियो । त्यस्तै, अध्यक्ष बज्राचार्यले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको दाबी गर्दै पत्रकारहरुलाई २००८ सालमै संगठित बनाएको स्मरण गर्नुभयो ।
त्यस्तै महासचिव सुनिल महर्जनले सांस्कृतिक र खोजमूलक पत्रकारिता गर्न आग्रह गर्नुभयो । भक्तपुरमा सक्रिय सञ्चारकर्मीहरुले समाचारमा फरक कोणलाई प्राथमिकता दिँदैआएकोमा धन्यवाद दिँदै अझै स्तरिय समाचार सम्प्रेशन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल संवत् ११३२ मा स्थापना गरिएको नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाका संस्थापक अध्यक्ष केके मानन्धर, निवर्तमान अध्यक्ष ईश्वरकाजी खाइजु, कृष्ण किसी, सुरेश साँय्जु, शिमान्त सिल्पकार लगायतको योगदान स्मरण गर्नुभयो ।
त्यस्तै कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकारहरुको जटिल प्रकृतिको स्वास्थ्य समस्यामा पत्रकार राष्ट्रिय दबूले आर्थिक सहयोग गरिरहेको बताउनुभयो । पत्रकार राष्ट्रिय दबूमा आवद्ध सञ्चारकर्मीहरुको लागि पन्ध्र लाखको अक्षय कोष स्थापना भइसकेको बताउँदै सोही कोषलाई बढाएर ५० लाख पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा राष्ट्रिय समाचार समितिमा आवद्ध पत्रकार रत्न श्रेष्ठले उहाँका अभिभावकको स्मृतिमा “हरिलाल, श्रीलक्ष्मी लुमन्ति पत्रकारिता सिरपा” घोषणा गर्नुभएको छ । पत्रकारितामार्फत योगदान दिएका सञ्चारकर्मीलाई प्रोत्साहित गर्न पुरस्कारको घोषणा भएको जनाएको छ । पुरस्कारको लागि कोषाध्यक्ष चन्द्रकृष्ण (गोपाल) श्रेष्ठमार्फत पत्रकार राष्ट्रिय दबूलाई नगद हस्तान्तरण गरिएको छ ।
 
पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला अध्यक्ष रामगोपाल तमखुको सभापतित्वमा आयोजित कार्यक्रममा बाबुकाजी साःछेँ श्रेष्ठ, हरिसुन्दर छुकाँ, सुरेश ख्वाकः श्रेष्ठ, प्रकाश मल्ल लगायतका सञ्चारकर्मीहरुको सहभागिता थियो । कार्यक्रमलाई पत्रकार राष्ट्रिय दबू भक्तपुरका सचिव देवेन्द्र प्रजापतिले सञ्चालन गर्नुभएको थियो ।