प्रवेश पत्र देखाएर विद्यार्थीहरुले कोरोना खोप लगाउन पाउने, यी हुन् खोप केन्द्रबाट

Swoniga Online – Rosni | २०७८ श्रावण २८, बिहिबार वर्गीकृत राष्ट्रिय

काठमाडौं । सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै परीक्षामा सहभागी हुने विद्यार्थीहरुले प्रवेश पत्र देखाए कोरोनाविरुद्धको खोप लगाउन पाउने जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई प्रवेश पत्रको आधारमा खोप उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

विद्यार्थीहरुलाई एष्ट्राजेनेका र भेरोसेलको पहिलो मात्रा दिने व्यवस्था मिलाउन सम्बद्ध निकायलाई स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन पाउनेछन् ।

यसअघि कोरोना महामारीका बीच परीक्षा सञ्चालन भइरहेको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले खोपको व्यवस्था गरे मात्र परीक्षा दिने भन्दै विरोध गरेका थिए ।

सरकारले कक्षा १२ को साउन ३१ गतेदेखि शुरु हुने भनिएको परीक्षा भने स्थगित गरिसकेको छ । त्रिभुवन विश्वविधालयले भने स्नातक र स्नातकोत्तर तहका परीक्षाहरु भने सञ्चालन गरिरहेको छ । भदौ ५ गतेसम्मका लागि निर्धारित परीक्षाहरु नरोकिने त्रिविले जनाएको छ ।