मन्त्रालय भागबण्डा टुंगिएन, साँझ फेरि गठबन्धनको बैठक बस्ने

Swoniga Online – Rosni | २०७८ भाद्र १५, मंगलबार वर्गीकृत राजनीति

सरकार विस्तारको लागी मन्त्रालयको भागबण्डा गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक साँझ फेरि बस्ने गरी टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

आज मन्त्रालयको भागबण्डा टुंगो लगाउने र भोलिसम्ममा मन्त्रिपरिषद विस्तार गरिसक्ने गठबन्धनको तयारी थियो । असार २९ मा प्रधानमन्त्री नियुक्त भएर पदभार ग्रहण गरेका प्रधानमन्त्री देउवाले डेढ महिना बित्दासमेत पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । 

आज विहान बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डा पूर्ण रूपमा नमिलेकोले पुनः बस्नेगरी नेताहरू उठेको बालुवाटार स्रोतले बतायो । ‘भ्याएसम्म आजै साँझ र नभए भोली विहान फेरि बस्ने सहमती गरेर गठबन्धनको बैठक सकिएको छ’, बालुवाटार स्रोतले भन्यो । 

हिजो बसेको गठबन्धनको बैठकले आज मन्त्रालय भागबण्डा टुंगो लगाउने सहमती गरेको थियो । गठबन्धनमा रहेका दलहरूलाई कतिवटा मन्त्रालय दिने टुंगो लागिसकेको भए पनि कुन–कुन मन्त्रालय पाउने टुंगो लाग्न सकेको छैन ।