महर्जनको पत्रकारितालाई जनसेवाश्री पदकबाट कदर

Swoniga Online | २०७८ आश्विन ३, आइतबार वर्गीकृत राष्ट्रिय

स्वनिगः अनलाईन, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विगत १९ वर्षदेखि पत्रकारितामा क्रियाशील ललितपुरका पत्रकार सुनील महर्जनलाई जनसेवाश्री पदवीबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ ।

गृह मन्त्रालयले राष्ट्रपति भण्डारीबाट विभिन्न विभूषण, अलङकार र पदक पाउन ९ सय ३ जनाको नाम आईतबार गोरखापत्रमा सार्वजनिक गरेको छ । त्यस मध्ये जनसेवाश्री पदवी पाउने सूचीमा पत्रकार महर्जनको नाम समावेशी गरिएको थियो । २०५९ सालमा महानगर दैनिकमा प्रशिक्षार्थी पत्रकार हुँदै महर्जनले २०६० साल श्रावणदेखि  नेपाल समाचारपत्र दैनिक मार्फत पत्रकारिता शुरु गर्नुभएको थियो । महर्जनले पत्रकारिता मार्फत बुद्धधर्मको विकास, मूर्त र अमूर्त संस्कृति, सम्पदाको संरक्षण र ललितपुरका बृहत सरोकारको विषयमा योगदान पु¥याउँदै आउनुभएको छ । हाल नेपाल समाचारपत्र दैनिकमा सहायक सम्पादक समेत रहनुभएका महर्जनले निजामती प्रशासन, संघीयता, स्थानीय तह विषयमा निरन्तर रिपोटिङ गर्दै आउनुभएको छ । 

यसका अतिरिक्त महर्जन नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रीय महासचिवको रुपमा समावेशी पत्रकारिता र मातृभाषाको पत्रकारिता विकासमा क्रियाशील हुनुहुनुहुन्छ । बौद्ध युवा कमिटी ललितपुरका पूर्वअध्यक्ष समेत रहनुभएका महर्जन मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको महासचिव,बुद्ध विहार पुनःनिर्माण समितिको सहसचिव समेत रहनुभएको छ । राष्ट्रिय युवा महासंघ नेपाल, ललितपुर मार्फत युवा परिचालन र नागरिक मैत्री प्रहरी प्रशासन निर्माणको अभियानमा पनि महर्जन सक्रिय रहँदै आउनुभएको छ ।