महासङ्घको किताब विमोचन कार्यक्रममा फोनिजको अवरोध

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २९, सोमबार वर्गीकृत राष्ट्रिय

काठमाडौं, २९ माघ नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिद्वारा प्रकाशित ‘अग्र अनुहार, कथा अग्रजको, गाथा महासङ्घको’ आइतबार विमोचन कार्यक्रममा महासङ्घको इतिहासलाई तोडमोड गरिएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले आपत्ति जनाउँदै कार्यक्रम विथोलेको छ । 

पत्रकार, पत्रकारिता र राजनीतिसँगै नेपाल पत्रकार सङ्घदेखि महासङ्घसम्मका विषय समेटेर तयार पारिएको उक्त पुस्तकप्रति फोनिजले असहमति जनाएको हो। फोनिजले महासङ्घका संस्थापक एवम् पत्रकार सत्यनारायणबहादुर श्रेष्ठलाई पनि उक्त पुस्तकमा समेट्नुपर्ने माग गर्दै विमोचन कार्यक्रममा असहमति जनाएको हो।

“२००८ सालमा पत्रकार सत्यनारायणबहादुर श्रेष्ठले पत्रकारलाई सङ्गठित गर्दै संस्था स्थापना गर्नुभयो।तर महासङ्घले श्रेष्ठपछिका कृष्णप्रसाद भट्टराई, जो २०१२ सालमा अध्यक्ष हुनुभएको थियो, उहाँलाई मात्र राखेको छ।हामीले यस विषयमा रिभ्यू गर्न ध्यानाकर्षण पत्र बुझाएका थियौँ”, फोनिजका अध्यक्ष गजुरधन राईले भन्नुभयो, “सिङ्गो पत्रकार महासङ्घको जिउँदो इतिहासलाई गलत ढङ्गले पछि धकेल्ने काम भएको छ ।” फोनिजको एक समूहले विमोचन अघि नै पुस्तक च्यातेपछि कार्यक्रम स्थलमा तनाव भएको थियो।

विमोचन समारोहमा सहभागी नेपाली पत्रकारिता क्षेत्रका विज्ञ एवं अग्रजहरूले पत्रकारिताको इतिहासबारे खोज र अध्ययनको आवश्यकता औँल्याउनुभएको छ।

नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिद्वारा प्रकाशित ‘अग्र अनुहार,  कथा अग्रजको, गाथा महासङ्घको’ विमोचन कार्यक्रममा प्रा. डा. रामकृष्ण रेग्मीले पुस्तकबारे समीक्षा गर्दै पत्रकारिताको इतिहासको खोज अनुसन्धानले यस क्षेत्रको वर्तमान चुनौतीको सामना र भविष्यको बाटो पहिल्याउन सहयोग पुग्ने बताउनुभयो।

उक्त पुस्तक नेपाली पत्रकारिताको इतिहासको लागि उपयुक्त स्रोत सामग्री हुने उहाँले बताउनुभयो।“यस पुस्तकले नेपालमा पत्रकारितालाई सङ्गठनको रूपमा विकास गर्दा आइपरेका चुनौती र उहाँहरूले गर्नुभएको सामनाका बारेमा जानकारी दिन्छ”, उहाँले भन्नुभयो, “भविष्यको बाटो पहिल्याउन विगत हेर्न पर्छ भने जस्तै यसले पत्रकारिताको इतिहासबारे अध्ययन गर्न र सिङ्गो पत्रकारितालाई अघि बढाउन सहयोगी साबित हुनेछ।अध्ययनका लागि स्रोत सामग्रीको अभाव सधैँ खड्किन्छ।यस पुस्तकलाई गतिलो स्रोत सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ ।” 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारिताको इतिहाससँगसँगै नेपाल पत्रकार महासङ्घको इतिहासको खोजी, सम्मान र इतिहासलाई स्थापित गर्न प्रयासरत रहेको बताउनुभयो। उहाँले उक्त पुस्तक पत्रकारिताको इतिहासका बारेमा अध्ययनका लागि अभिलेखीकरण भएको बताउँदै पत्रकारिताको इतिहास खोज्न र तथ्यमा आधारित भएर इतिहासलाई स्थापित गर्न महासङ्घ प्रयत्नशील भएको बताउनुभएको हो ।