माओवादी केन्द्रको निर्णय : केन्द्रीय समितिको बैठक आजै सक्ने

Swoniga Online – Rosni | २०७८ श्रावण ३१, आइतबार वर्गीकृत राजनीति

नेकपा माओवादी केन्द्रले शनिबारदेखि जारी केन्द्रीय कमिटीको बैठक आज टुङ्ग्याउने भएको छ । समूहगत छलफलको निष्कर्षपछि आजै बैठक समापन गर्ने माओवादीको तयारी छ । 

केन्द्रको बत्तीसपुतलीमा केन्द्रीय कमिटी बैठक अहिले पनि जारी छ । बैठकअघि आज बिहानै बसेको स्थायी समिति बैठकले आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो । 

बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले आजको केन्द्रीय समितिको बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टहरुलाई भोलि बस्ने स्थायी समितिको बैठकले व्याख्या र निस्कर्ष निकाल्ने बताए । 

श्रेष्ठले भने, ‘आज बसेको स्थायी समितिको बैठकले सकेसम्म आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अगाडि बढ्ने गरी समझदारी बनाएका छौँ, आजको केन्द्रीय समितिको बैठकमा समूहगत छलफलबाट रिपोर्टहरु आउने छन्, त्यसपछि त्यसको व्याख्या र निष्कर्षको लागि स्थायी समितिको बैठक भोलि बस्नेछ ।’

आजको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल भइरहेको छ । समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ ।