माधवलाई पछार्न खोज्ने को-को पुगे ओलीले बोलाएको स्थायी कमिटी बैठकमा ?

Swoniga Online – Rosni | २०७८ भाद्र ८, मंगलबार वर्गीकृत राजनीति

पार्टी विभाजन गरेपछि माधव नेपालको साथ छाडेका दोस्रो पुस्ताका नेताहरू ८ महिनापछि एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल पुगेका छन् ।

लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका नेताहरु २३ फागुनमा पुनर्स्थापित एमालेको स्थायी कमिटीमा पहिलो पटक सहभागी भएका हुन् । 

१० बुँदे सहमति कार्यान्वयन गर्ने सहमतिसँगै एमालेको स्थायी कमिटी बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बोलाइएको छ । १० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनुपर्ने माग राख्दै आएका स्थायी कमिटी सदस्यहरू अध्यक्ष केपी शर्मा ओलीसँग सोमवार भएको सहमतिपछि मंगलवारको बैठकमा सहभागी भएका हुन् । अध्यक्ष ओलीको बालकोटस्थित निवासमा सोमवार भएको छलफलमा पार्टीलाई जेठ २ को अवस्थामा फर्काउने सहमति भएको थियो ।

सहमतिसँगै उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल तथा सचिवत्रय गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य च्यासल पुगेका छन् ।स्थायी कमिटी सदस्य  सुरेन्द्र पाण्डे, रघुजी पन्त र अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा पनि बैठकमा सहभागी हुँदैछन् ।

मंगलवारको बैठकमा पूर्वमाओवादी खेमाका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायत पनि सहभागी हुँदैछन् ।