add

माधव नेपालको साथ छाड्ने बढे

Swoniga Online – Rosni | २०७८ भाद्र १४, सोमबार वर्गीकृत राजनीति

काठमाडौं । नेकपा एमाले फुटाउने तयारी गर्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई बहुमत निर्वाचित पदाधिकारी र स्थायी कमिटी सदस्यको साथ थियो । तर, फुटाउँदा कसैको पनि साथ भएन । प्रतिनिधि सभाका २३ सांसद लिएर नेपालले नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता गरेका छन् ।

२३ सांसदमध्ये प्रेम आले, किसानलाल श्रेष्ठ, धनबहादुर बुढालगायत अन्तिम समयमा गुट परिवर्तन गरेका हुन् । उनीहरु मन्त्री बन्ने आश्वासन पाएर गुट परिवर्तनका लागि तयार भएका थिए । केन्द्रमा लोकप्रीय भएका कतिपय नेताहरुको राजनीतिक भूगोल कमजोर छ । राजनीतिक हस्तीहरु विनाको नेकपा एस कमजोर हुने देखेर कित्ताकाटको मौका कुरेर बसेका प्रदेश सभा सांसद र स्थानीय तहका जनप्रतिनिधि अलमलिएका छन् ।

नेकपा एस दर्ता भएपछि २२ भदौसम्म प्रदेश सभा सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई कित्ताकाट गर्ने मौका छ । अध्यादेश बमोजिम अबको एक हप्तामा कित्ताकाट भइसक्छ ।
एमाले फुटाए बनेको नेकपा एसमा गएका नेताहरु हेरेर माधव नेपाल समूहमा रहेका कतिपय जनप्रतिनिधिको कदम हट्न थालेको छ । एक दुईजना नेताबाहेक कोही पनि निर्वाचन क्षेत्रमा बलियो पकड भएका छैनन् ।

 

२०५४ मा नेकपा एमाले विभाजन हुँदा बामदेव गौतमले झण्डै ५० प्रतिशत सांसद र केन्द्रीय सदस्य लिएर गएका थिए । तैपनि उनले २०५६ को चुनावमा कुनैपनि निर्वाचन क्षेत्रमा नेकपा मालेलाई जिताउन सकेनन् । त्यो इतिहासको पाना समेत माधव नेपाल पक्षमा जाने कि नजाने गरिरहेकाहरुले पल्टाउन थालेका छन् ।

नेकपा एसमा गएका प्रदीप नेपाल ब्याक भए । उनले नेपालमाथि आफूलाई धोका दिएकाले बिदा भएको फेसबुकमा लेखेका छन् । यसले नेकपा एसमा समेत तरंग आएको छ ।

प्रदेश सभा सांसद र स्थानीय निकायका जनप्रतिनिधि पनि माधव नेपालले आँकलन गरेभन्दा निकै कम संख्यामा नेकपा एसमा जाने निश्चितप्रायः भएको छ ।

प्रदेश १ मा नेकपा एमालेका ५१ सांसदमध्ये १० जना मात्र नेकपा एसमा खुलेका छन् । तीमध्ये केही ब्याक हुने सम्भावना बढेर गएको छ । यसका लागि मुख्यमन्त्री भीम आचार्य र निवर्तमान मुख्यमन्त्री शेरधन राई सक्रिय भएका छन् । कतिपयलाई मन्त्री दिने आश्वासनसहित तान्ने प्रयास गरिएको छ । यसकारण पनि मन्त्रिमण्डल पूर्ण विस्तार गरिएको छैन । माधव नेपाल पक्षधर २ जनालाई मन्त्री नियुक्त गरिएको छ ।

प्रदेश १ मा विगतमा नेपाल पक्षधर २४ सांसद रहेकोमा अहिले १० जनामा झरेका छन् । त्यो संख्या अझ घट्ने परिस्थिति विकास भएको छ ।

बागमती प्रदेशमा यसअघि माधव नेपाल पक्ष बलियो थियो । नेकपा एमालेका ५६ जना सांसद मध्ये नेपाल समूहमा २२ जना थिए । अब त्यो घटिसकेको छ । अहिले ५ जना मात्र माधव नेपालको पक्षमा खुलेका छन् । केही सांसदहरु तानातानमा छन् । नेकपा एसको स्थिति बुझेर सांसदहरुले निर्णय लिने तयारी गरेका छन् । कतिपयले भविष्य राम्रो नदेखेर नजाने निर्णय लिएका छन् ।

स्थानीय निकायका जनप्रतिनिधि मध्ये अधिकांश केपी शर्मा ओली पक्षमा रहने भएका छन् । विगतमा ओली र नेपाल दुवै पक्षमा आधा आधा जस्तो संख्या रहेकोमा अब कित्ताकाट चल्न थालेको छ ।

एमालेमै फर्कने निर्णयमा धेरैजसो माधव नेपाल पक्षधर जनप्रतिनिधि पुगेको बुझिएको छ । राजनीतिक भविष्य जोगाउनका लागि भएपनि कतिपयले नेकपा एसमा नजाने निर्णय लिन थालेका छन् ।

प्रतिनिधि सभाका २० प्रतिशत सांसद साथ लग्न सकेका माधव नेपालले प्रदेश सभातर्फ १० प्रतिशत पनि लान नसक्ने देखिएको छ । सबै प्रदेशहरुमा अवस्था यही छ । स्थानीय निकायका जनप्रतिनिधि १० प्रतिशतभन्दा कम माधव नेपालको पक्षमा खुलेका छन् ।