add

मेयर महर्जनको रणनीति, बजेट तथा कार्यक्रम पास गर्ने बलजफ्ती

Swoniga Online | २०७८ आषाढ १२, शनिबार वर्गीकृत राष्ट्रिय

स्वनिगः अनलाईन, काठमाडौ ।

मेयर चिरिबाबु महर्जन बहुमत नगरसभा सदस्यलाई ‘ पेलेरै ’ ललितपुर महानगरपालिका चलाउने रणनीति अख्तियार गर्दै हुनुहुन्छ ।

यही रणनीति अन्तर्गत मेयर महर्जनले कार्यपालिकाबाटै स्वीकृति नै नगरी नीति तथा कार्यक्रम र बजेट सीमा बिहीबार नगरसभामा पेश गर्नुभयो। नीति तथा कार्यक्रम कार्यपालिकाबाट स्वीकृत गर्नुपर्ने कानूनी प्रावधान मिचिएकोमा मेयर महर्जनलाई कुनै संकोच छैन।कार्यपालिकाबाट पारित नगरी नीति तथा कार्यक्रम पेश गर्न नहुने संविधान, ऐनको प्रावधानका बारे आफ्नै पार्टीका उपमेयर गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल लगायत मेयरका सहयोगीले सम्झाउँदा समेत मेयरले कानमा तेल कानमा तेल हालेर नसुने झै गर्दै आउनुभएको छ । 

 नेपालको संविधान, २०७२ को धारा २१४ मा स्थानीय तहको कार्यकारिणी अधिकार गाउँपालिका वा नगर कार्यपालिकामा निहित रहने भनेको छ । सोही धाराको उपधारा (४) बमोजिम गाउँपालिका र नगरपालिकाका कार्यकारिणी कार्य गाउँपालिका र नगर कार्यपालिकाको नाममा हुने उल्लेख गरिएको छ । कार्यपालिकाबाट पारित नभएको नीति तथा कार्यक्रमको कानूनी मान्यताप्रति प्रश्न उठाउँदै ९२ जना नगरसभा सदस्यले विहीबार र शनिबार नगरसभा बैठक बहिष्कार गरेको विषय पनि मेयर महर्जनलाई कुनै टाउको दुखाईको विषय बनेको छैन । उल्टै बिहीबार बोलाइएको सभा वहिष्कार गरेपछि त्यसको तीन दिनपछि शनिबार बैठक बोलाइयो । सो सभा पनि बहुमत सदस्यले वहिष्कार गरेपछि आईतबार पुन सभा बोलाइएको छ ।आईतबारको सभा पनि वहिष्कार गरेमा एक तिहाई सदस्यको हस्ताक्षर जुटाएर विशेष सभा आहवान गदै अघि बढ्ने मेयर महर्जनको मनसुवा रहेको प्रवक्ता राजु महर्जनले बताउनुभयो । १ सय ३१ जना नगरसभा सदस्य मध्ये नेकपा  (एमाले) र माओवादी केन्द्रबाट निर्वाचित ९२ जना नगरसभा सदस्य रहेका छन् ।

नीति तथा कार्यक्रममा छलफल गर्न तोकिएको समय सीमा असार १० गतेको अघिल्लो दिन ९ गते बुधबार मात्र कार्यपालिका बैठक बोलाएको थियो । महिनौं दिन कार्यपालिका बैठक छलेर अनेक निर्णय गर्दै आउनुभएका मेयर महर्जनले सो बैठकमा  जसरी भएपनि नगरसभामा लाने ढीपी कस्दै ‘आजको आजै पास गर्नुंपर्ने निर्देशन’ दिनुभएको मेयर महर्जनको भनाईलाई उधृत गर्दै वडा– ३ का अध्यक्ष श्रीगोपाल महर्जनले भन्नुभयो ।त्यसको प्रत्युत्तरमा बहुसंख्यक कार्यपालिका सदस्यले आजको आजै २ सय ६९ बुँदा रहेको यत्रो नीति तथा कार्यक्रम अध्ययन गरेर कसरी पारित गर्ने भनि सोध्दा मेयर महर्जनले भन्नुभयो ‘अर्काे चुनाव जितेर आउनु, अनि पढ्नु’ भन्ने जवाफ दिनु भयो ।’ अनि छलफलको वातावरण बिग्रियो । बहुमत कार्यपालिका सदस्यहरु बैठकबाट बाहिर निस्किएको वडाअध्यक्ष महर्जनले भन्नुभयो । ‘बैठकलाई मर्यादित बनाउनुपर्ने अध्यक्ष स्वयंम्ले यस्तो भाषा, शैली र अलोकतान्त्रिक शैलीमा प्रस्तुत हुनुलाई निकै दुःखदका रुपमा लिनुपर्दछ ।’ सभामा अनुपस्थित नगरसभा सदस्यद्वारा प्रकाशित विज्ञप्तीमा भनिएको छ । 

अरु बेला ऐन र कानूनलाई खासै वास्ता नगर्ने मेयर महर्जन ‘ पेलेरै ’अघि बढ्ने आफ्नो मनसुवा पुरा गर्न आफू अनुकूलको ऐनको बुँदाको हवाला दिइरहनुभएको छ । स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को बजेट पेश र पारित गर्ने सम्बन्धी प्रावधान अन्तर्गत आगामी आर्थिक वर्षको राजश्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र नगरसभामा पेश गर्नुपर्ने उल्लेख गरिएको छ। असार १० गतेभित्र नगरसभा पेश गर्नुपर्ने बाध्यकारी कानूनी प्रावधान रहेकोले नीति र बजेट सीमा नगरसभामा पेश गरिएको मेयर महर्जनले बताउनुभयो ।कार्यपालिकाबाट स्वीकृत गर्नुपर्ने भन्ने दफाको एक अंश पूरै उल्लंघन गरी खालि असार १० गतेको हवाला दिएर कपटपूर्ण ढगले नगरसभा गरिएको  ९२ जना नगरसभा सदस्यको तर्फबाट प्रकाशित विज्ञप्तीमा भनिएको छ ।

त्यसैगरी ऐनमा बजेट निर्माण प्रक्रियाको समय सीमा पनि तोकिएको छ । दफा ६६ मा प्रमुखको संयोजकमा हुने स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको उपदफा (६) मा समितिले आफ्नो कार्य प्रत्येक वर्षको बैशाख १० गतेभित्र सम्पन्न गरिसक्नु पर्नेछ र बजेट प्रक्षेपण गर्दा आगामी आर्थिक वर्ष पछिको थप २ वर्षको समेत गर्नु पर्नेछ भनि व्यवस्था गरिएको छ । आफू अनुकूल भएको ऐनको प्रावधान मात्र थाहा छ र अरु थाहा छैन भनेर मेयरले भन्नु भनेको गलत मानसिकताले संविधान, ऐन र कानूनको दुरुपयोग गर्नु रहेको २१ वडाका अध्यक्ष रविन्द्र महर्जनको भनाई रहेको छ ।

मेयर महर्जनको बोली, कानून मिचेर अघि बढ्ने कार्यशैली सुधार गर्न आफ्नै पार्टी नेपाली काँग्रेसका वडा अध्यक्षहरुले सम्झाउँदा उल्टै तिनिहरुलाई खाउँला जस्तो व्यवहार गर्ने गरेपछि कसैको केही सीप नलागेको बुझिएको छ ।अहिले मेयर महर्जनको  कोर टिममा वडा नं ९ का अध्यक्ष राजु महर्जन, ७ वडाका वडाअध्यक्ष कुलबहादुर महर्जन र २० वडाका वडाअध्यक्ष चन्द्र महर्जन लगायतको टिम रहनुभएको छ । मेयरको कार्यशैलीलाई लिएर जनताको बीचमा प्रतिवाद गर्न नसकेकोमा उनीहरु पनि भित्रभित्रै खिन्न रहेको बुझिएको छ ।‘ कानूनको शासन नभई अभिमानको शासन भएको छ । स्थानीयस्तरमा नेपाली काँग्रेसको लोकतान्त्रिक छवि नै धुमिल भएकोमा हामी चिन्तित छौं । तर एउटै पार्टीको भएकोले हामीले बाहिर बोल्नु मिलेन ।’ नाम उल्लेख नगर्ने शर्तमा मेयर महर्जनकै  कोर टिममा रहेका एक सदस्यले भने ।