यस बर्ष दशैंमा फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन नरोकिने

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ आश्विन २७, बुधबार वर्गीकृत स्थानीय-समाज

यस बर्ष दशैंका मुख्य दिनहरुमा फोहोर नियमित संकलन गरिने भएको छ। कर्मचारीलाई आलोपालो खटाएर, साँझ वा बिहानको समय मिलाएर फोहोर उठाउने वातावरण व्यवस्थापन विभागले योजना बनाएको छ। विभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्नुहुन्छ,— संकलन, ढुवानी र अन्तिम व्यवस्थापनका लागि जनशक्ति खटाएका छौँ। 

यो स्वच्छ पर्व मनाउने प्रयास हो। यसका लागि हरेक फोहोर उत्पादकले पनि सहयोग गर्नुपर्छ। श्रेष्ठ भन्नुहुन्छ — यस अवधिमा उद्योग÷व्यवसाय÷कार्यालय बन्द नै रहन्छन्। धेरै मानिस काठमाडौं बाहिर जाने भएकोले मात्रा त्यसै पनि घट्छ। काठमाडौंमा हुनेले कम फोहोर निकालिदिए पुग्छ। अहिले देवी शक्तिपीठसहित मानिसहरुको धेरै चहलपहल धेरै हुने ठाउँ बजार र मठ—मन्दिरमा सरसफाइ गर्ने, चोक, गल्ली र खुल्ला ठाउँमा पानी छर्किने, बढार्नेलगायतका काम भइरहेका छन्। 

महानगरको फोहोर संकलनमा साझेदारिता गर्दै आएका निजी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरु ल्याण्डफिल साइट सञ्चालन भए आफूहरुलाई नियमित काम गर्न कठिन नहुने बताउँछन्। वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहाल भन्नुहुन्छ — सरसफाई कार्य जटिल प्रकृतिको काम हो । पर्वमा सबै व्यक्ति रमाइलो गरिरहेका हुन्छन्। यो सफाइकर्मीको पनि पर्व हो। त्यसैले आधा समय सफाइमा र आधा समय पर्वमा लगाउन पाए हुन्थ्यो। यसका लागि फोहोर उत्पादन गर्नेहरुले पनि जिम्मेवार भएर फोहोर व्यवस्थापनमा सहयोगी बन्नुपर्छ । फोहोरमैला व्यवस्थापन संघ स्वमानका अध्यक्ष धु्रव आचार्यको भनाइ पनि उस्तै छ। सार्वजनिक ठाउँहरु सफाइ गर्ने काम नियमित हुन्छ। सामान्यतयाः पर्वका समयमा ल्याण्डफिल साइटका स्थानीयको चाहना फोहोर नल्याइदिए हुन्थ्यो भन्ने हुन्छ । त्यसैले हामी द्वादशीपछि फोहोर संकलन कार्यलाई नियमित गर्छौँ।

दशैँ अवधिमध्ये फुलपाती र अष्टमीका दिन धेरै फोहोर उत्पादन हुन्छ । सहरमा उत्पादन भएको फोहोर महानगरले टेकु ट्रान्सफर स्टेशनमा जम्मा गरेर संकलित फोहोर सिसडोल ल्याण्डफिल साईटमा अन्तिम व्यवस्थापनको काम गर्दै आएको छ । उता निजी तथा गैरसरकारी संघसंस्थाले भने सहरका बिभिन्न ठाउँमा जम्मा गरेर ढुवानीको प्रबन्ध गर्दै आएका छन्।