यी हुन् एकीकृत समाजवादीले तोकेको प्रदेश इन्चार्जहरू (सूचिसहित)

Swoniga Online – Rosni | २०७८ भाद्र २०, आइतबार वर्गीकृत राजनीति

काठमाडौं – नेकपा एकीकृत समाजवादीले प्रदेशको प्रदेश इन्चार्ज तोकेको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले सुदूरपश्चिमबाहेक अन्य प्रदेशमा इन्चार्ज तोकेको हो ।

नेकपा एसले जारी गरेको अन्तर पार्टी निर्देशन अनुसार प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत तोकिएका छन् । त्यस्तै प्रदेश २ को इन्चार्ज धर्मनाथ प्रसाद साह तोकिएका छन् । उनी एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा केपी ओली प्यानलबाट उपाध्यक्षको उम्मेदवार भई पराजित भएका थिए ।

वागमती प्रदेशको इन्चार्जमा केदार न्यौपाने तोकिएका छन् । एकपटक राष्ट्रियसभा सदस्य भएका न्यौपाने पनि पूराना नेता हुन् । गण्डकी प्रदेशको इन्चार्जमा केशवलाल श्रेष्ठ तोकिएका छन् । वामदेव गौतम निकट श्रेष्ठ नवौं महाधिवेशनमा केपी ओली प्यानलबाट सचिव उम्मेदवार थिए ।

लुम्बिनी प्रदेश इन्चार्जमा भागवत विश्वासी तोकिएका छन् । त्यस्तै कर्णाली प्रदेशको इन्चार्जमा प्रकाश ज्वाला तोकिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा भने इन्चार्ज तोकिन बाँकी छ । उर्वादत्त पन्त वा रामकुमार ज्ञवालीमध्ये एकजना इन्चार्ज तोकिने सम्भावना छ । त्यस्तै नेकपा एसले उपत्यका प्रदेशको इन्चार्जमा विश्वनाथ प्याकुरेल र विशेष प्रदेश इन्चार्जको जिम्मा विजय गुरुङलाई दिएको छ ।

समाजवादीले स्थायी कमिटी, सचिवालय र विभिन्न विभागीय जिम्मेवारी पनि बाँडेको छ। समाजवादीले पार्टीको आगामी राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्म हाइकमाण्डका रुपमा पाँच सदस्यीय स्थायी कमिटी चयन गरेको छ

जसमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन्।

पार्टीको दैनिक कार्य सम्पादनका लागि बेदुराम भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको सचिवालय बनाइएको छ। केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी डा. गंगालल तुलाधरले पाएका छन्।

अदालत र निर्वाचन आयोग हेर्ने जिम्मेवारी नेता राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीले पाएका छन्। संसदीय कामको जिम्मेवारी विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीले पाएका छन्।

उपत्यका विशेष प्रदेशमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ, मोर्चा इञ्चार्जमा डा. विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद शाहले जिम्मेवारी पाएका छन्।