यी हुन् ठाकुरलाई माछो माछो भ्यागुतो बनाउने सांसद!

Swoniga Online – Rosni | २०७८ भाद्र ४, शुक्रबार वर्गीकृत राजनीति

 जनता सामाजवादी पार्टी विभाजित भएपछि महन्थ ठाकुर पक्ष प्रदेश २ मा कमजोर भएको छ। महन्थ ठाकुरले निर्वाचन आयोगमा पार्टी दर्ताको लागि निवेदन दिइसकेपछि प्रदेश सांसद उनको पक्ष र विपक्षमा खुलेका छन्।

उपेन्द्र यादव पक्षभन्दा कमजोर देखिएको महन्थ पक्षका ९ जना सांसद उनको साथ छाडिसकेका छन्। तत्कालीन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित २५ जनामध्ये ९ जना प्रदेश सांसद उपेन्द्र यादव पक्षमा गएका छन् भने तत्कालीन सामाजवादी पार्टीबाट निर्वाचित कुनै पनि सांसद महन्थ पक्षमा आएका छैनन्।

जसपा विभाजनपछि उपेन्द्र यादवसँग ३९ जना प्रदेश सांसद छन् भने महन्थ ठाकुरसँग १६ जना प्रदेशसभा सदस्य मात्र छन्। महन्थ ठाकुर पक्षका प्रदेश सांसद परमेश्वर साह उपेन्द्र यादव पक्षभन्दा महन्थ ठाकुर पक्ष कमजोर देखिएको बताए। उनले तत्कालीन राजपाबाट निर्वाचित ९ जना सांसद उपेन्द्र यादव पक्षमा खुलेको बताए।

उनले तत्कालीन ६ वटा दल मिलेर बनेको पार्टी राजपाको जिल्ला तथा प्रदेशस्तरीय कमिटी नबनेकै अवस्थामा राजपा र सपा मिलेर जसपा बनेको तर अहिले आएर जसपा पनि विभाजित भएपछि को कुन पक्षमा लागेको अझै पूर्ण रुपले नखुलेको बताए।

उनले भने, ‘निर्वाचन आयोगले दल विभाजन भइसकेपछि सांसद र जनप्रतिनिधिका लागि २१ दिनको समयसीमा तोकेको छ। यसपछि को कता लागेका छन् राम्रोसँग खुल्छ।’

आफूहरूको पक्षबाट ९ जना प्रदेश सांसद उपेन्द्र यादव पक्षमा गइसकेपछि आफूहरू कमजोर भएपछि नयाँ पार्टी संगठन निर्माणमा केही समय लागे पनि आधार क्षेत्र बलियो रूपमा निर्माण गर्ने उनले बताए।

तत्कालीन राजपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित मनीष सुमन आफूले कुनै पार्टी परिवर्तन नगरेको बताए। उनले आफू विगतमा जसपामै रहेको र अहिले पनि जसपाममै रहेको बताए।

महन्थ ठाकुर केपी शर्मा ओली नेतृत्वको सरकारमा जान पार्टी फोड्नसमेत उद्यत देखिएको आरोप लगाउँदै उनले प्रतिगामी ओली सरकारमा समय व्यतित गरेर पार्टीको नामसमेत बदनाम गर्न पछि नपरेकाहरूले गुट र समूहमा रमाउने भएकाले गुट स्थापना गर्न लागेको भन्दै महन्थ ठाकुरको आलोचना गरे।

महन्थ ठाकुरलाई तत्कालीन राजपाबाट निर्वाचित भएर मन्त्री बनेका नवलकिशोर साह, रामनरेश राय यादव, पूर्वराज्यमन्त्री सुरेश मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले साथ छाडिसकेका छन्।

यता, जसपाबाट फुटेका महन्थ ठाकुर पक्ष दल दर्ता भएपछि प्रदेश सरकारबाट समर्थन फिर्ता लिने जनाएका छन्। सुरुमा ५५ वटा सांसद रहेको जसपाको नेतृत्वमा प्रदेशमा सरकार थियो भने पार्टी विभाजन भएपछि हाल जसपा, कांग्रेस र नेकपा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेको छ।

महन्थ ठाकुरलाई छाडेका सांसद

१. नवलकिशोर साह
२. रामनरेश राय यादव
३. मनीष समुन
४. सुरेशकुमार मण्डल
५. रानी शर्मा तिवारी
६. डा रिना यादव
७. डा. अञ्जुकुमारी यादव
८. विदेश्वरप्रसाद यादव (विक्की यादव)
९. नेत्रविक्रम साह

महन्थ ठाकुर पक्षमा रहेका सांसद
१. परमेश्वर साह सुडी
२. जयनुल राइन
३. सुरिता कुमारी साह
४. अभिराम शर्मा
५. उपेन्द्र महतो
६. गौरीनारायण साह तेली
७. बाबुलाल साह कानु
८. सरोज कुमार यादव
९. जितेन्द्रप्रसाद सुनार
१०. रमेशप्रसाद कुर्मी
११.अल्का कुमारी झा
१२. डा डिम्पलकुमारी झा
१३. जानकीशरण साह
१४. निराकुमारी साह
१५. निलमदेवी भूमिहारीन
१६. बबिता कुमारी