रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा (पत्रसहित)

Swoniga Online – Rosni | २०७८ श्रावण २७, बुधबार वर्गीकृत राष्ट्रिय

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । बुधबार महाप्रबन्धक भट्टराईले राजीनामा दिएका हुन् ।

 

गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईमाथि स्पष्टीकरण सोधेको थियो । सोही अनुसार आज भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

राजीनामा दिँदै महाप्रबन्धक भट्टराईले आफूले नियुक्ती लिएको दिनदेखि इमान्दारीता पूर्वक काम गरेको र आफूले नेपाललाई रेल युगमा प्रवेश गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

‘मैले रेल्वे कम्पनीको महाप्रबन्धक पदमा नियुक्ती लिएको दिनदेखि इमान्दारीतापूर्वक निरन्तर कम्पनीको काममा लागेर मृतष् प्रायः अवस्थमा रहेको नेपाल रेल्वे कम्पनी लिमिटेडलाई पुनर्जीवन दिई पहिलो चरणमा जयनगर-जनकपुर कुर्था खण्डमा रेल सेवा सञ्चालन गर्न तयारी अवस्थमा पुर्याएको छु ।’ उनले भनेका छन्- ‘नेपालमा आधुनिक रेल प्रविधि भित्राउने, नेपालमा नै रेल्वेसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन गर्ने क्रममा योगदान गरी नेपाललाई रेल युगमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको स्पष्ट नै छ । ’

त्यसैगरी कामकारबाहीमा त्रुटि देखाइ सोधिएको स्पष्टीकरणमा समेत खण्डन गरेका छन् । सरकारले स्पष्टीकरण सोध्ने क्रममा लगाएका आरोपहरु आफ्नो पदीय जिम्मेवारी भन्दा बाहिरका र असान्दर्भिक रहेको उनको दाबी रहेको बताएका छन् ।

महाप्रबन्धक भट्टराईले राजीनामा पत्रमा रेल्वेको क्षेत्रमा भइरहेको कामकारबाही र आगामी दिनका योजनाको बारेमा समेत सरकारलाई जानकारी समेत गराएका छन् ।

रेल सञ्चालनका लागि तयारी रहिरहेका बेला दिनुपरेको राजीनामाले सबै प्रक्रियाहरुमाथि नै गम्भीर असर पर्ने उनको भनाइ रहेको छ । त्यस्तै वर्तमान सरकार आएसँगै राजनीतिक पूर्वाग्रहको आधारमा पूर्वाग्रही ढंगले पूर्ववर्ती सरकारले गरेका नियुक्तीहरु खारेजी गरिएको उनको आरोप रहेको छ ।