ललितपुर महानगर वडा नं. १६ द्वारा तीन महिनासम्म नि:शुल्क स्वास्थ्य शिविर

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १२, शुक्रबार वर्गीकृत स्थानीय-समाज

ललितपुर/ १२ माघ, ललितपुर महानगरको वडा नं. १६ ले तीन महिनासम्म नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । वडा नं. १६ ले इलाननी रचना फिजियोथेरापी उपचार केन्द्रको समन्वयमा तीन महिनासम्म निस्शुल्क स्वस्थ्य शिविर सञ्चालन गर्ने भएको हो । 

आफ्नो वडाभित्रका धेरैभन्दा धेरै नागरिकहरुले स्वास्थ्य सुविधा पाएर निरोगी जीवनयापन गर्नु पाउन भन्ने उद्देश्यका साथ तीन महिनासम्म स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको बताउनुहुन्छ ललितपुर महानगरपालिकाका वडा नं १६ का अध्यक्ष निर्मल रत्न शाक्य । 

"स्थानीय जनप्रतिनिधिको रुपमा सबै वडावासीहरुको स्वास्थ्य सुविधाको लागि हामीले काम गर्ने हो । धेरैभन्दा धेरै नागरिकहरुले स्वास्थ्य सुविधा पाएर निरोगी जीवनयापन गर्नु पाउन भन्ने उद्देश्यका साथ तीन महिनासम्म स्वास्थ्य शिविर सञ्चालन गर्न लागेका हौं । संविधानले नै शिक्षा र स्वास्थ्य नागरिकको अधिकारका रुपमा परिभाषित गरेको छ। तसर्थ सबैलाई निरोगी बनाउन स्वास्थ्य शिविर, पहिचान भएका रोगको निधानका लागि डाक्टरको सिफारिसअनुसार निस्शुल्क ओैषधि वितरण, जनचेतना अभिबृद्धि लगायतका कामहरुलाई केन्द्रित गरेका छौं ।" अध्यक्ष शाक्यले भन्नुभयो । 

उहाँले सीमित स्रोत साधनबाट न्युनतम मुल्यमा इलाननी रचना फिजियोथेरापी उपचार केन्द्रबाट फिजियोथेरापी उपचार सेवा दिइरहेको समेत जानकारी गराउनु भयो । उहाँले वडा कार्यालयले माघ महिनामा मंगलबजार, बुबहाल, इलाननी र नकबहिल गरि चार स्थानमा शिविर सञ्चालन हुने जानकारी गराउनु भयो । अरनिको समाजसंग सहकार्य गरेर फागुन र चैत महिनाभर फिजियोथेरापी शिविर सञ्चालन गरिने गरि तयारी भएको जानकारी गराउनु भयो । 

फिजियोथेरापिस्ट डा चन्द्रदीप कुमार महतोले शिविर सञ्चालनकाक्रममा फिजियोथेरापी र आयुर्वेद सम्बन्धि उपचारलाई जोड दिइने जानकारी गराउनु भयो । "हाडजोर्नीका समस्याका विरामीहरुको समस्यालाई ध्यान दिएर निशुल्क परामर्श , निशुल्क उपचार सेवाका लागि शिविर गर्न लागिएको हो । प्रेसर, मधुमेह, ग्यास्ट्रिक लगायतका समस्याहरुका लागि उपचार सेवा प्रदान गरिन्छ ।"  डा. महतोले भन्नुभयो ।