add

संविधानमा नि:शुल्क भनेर उल्लेख गर्ने तर व्यवहारमा उपचार नपाउँदा नागरिक मर्ने अवस्था हुनुहुँदैन - स्वास्थ्य मन्त्री बस्नेत

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २६, शुक्रबार वर्गीकृत राष्ट्रिय

ललितपुर/२५ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्यलाई संविधानमा नि:शुल्क भनेर उल्लेख गर्ने तर व्यवहारमा निशुल्क उपचार नपाउँदा नागरिक मर्ने अवस्था हुनुहुँदैन भन्ने बताउनु भएको छ । मानसिक स्वास्थ्य अस्पताल लगनखेलकाे किशाेरकिशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन समारोहकाे अवसरमा आयाेजित कार्यक्रममा  मन्तव्य राख्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले हरेक एक सय जनामा १० जना मानसिक राेगीहरु भेटिने गरेका अवस्थाकाे तथ्यलाई स्मरण गर्नुहुँदै संविधानमा उल्लेखित राज्यको दायित्व अनुसार मानसिक राेगीहरु बढ्नुकाे कारण पत्ता लगाएर त्यसलाई राेक्न ध्यान दिनुपर्छ भन्ने बताउनु भएको हाे ।

"बालबालिका र किसाेरकिसाेरीहरुका लागि एकीकृत रुपमा छुट्टै युनिट खडा गरेर उपचार सेवा दिने उद्देश्यले याे सेवन सुरु गरेकोमा हार्दिक आभार दिन चाहान्छु । सरकारले गर्नुपर्ने काम निजी साझेदार संस्था र विकासका साझेदार संस्थाहरुबाट भएको छ। याे सेवालाई सातै प्रदेशमा विस्तार गर्न मन्त्रालय अगाडि बढ्न तयार रहेकाे छ । मानसिक राेगीहरु बढ्नुकाे कारण पत्ता लगाएर त्यसलाई राेक्न ध्यान दिनुपर्छ । संविधानमा नि:शुल्क भनेर उल्लेख गर्ने तर व्यवहारमा उपचार नपाउँदा नागरिक मर्ने अवस्था हुनुहुँदैन ।" मन्त्री बस्नेतले भन्नुभयो ।
मन्त्री बस्नेतले उपदेश  दिन सजिलो छ र काम गर्न गाह्रो छ भन्नुहुँदै राम्रो काम आफैबाट सुरु हुनुपर्छ भन्नेमा जाेड दिनु भयाे । उहाँले सिबिनकाे काम नजिकबाट हेरिरहेको छु भन्नुहुँदै बालबालिकालाई ध्यान दिएर दशकाैंदेखि धेरै राम्रो र उत्कृष्ट काम गर्नु भएको भन्दै याेगदानकाे प्रशंसा गर्नुभयाे ।
समस्यामा परेकाे ब्यक्तिले समयमा उपचार पाउने सुनिश्चिता छैन भन्ने साेच्दा पनि मानसिक राेग बढेको छ भन्नुहुँदै मन्त्री बस्नेतले यसका लागि राज्य, संघसंस्था र नागरिकहरु सबैले मिलेर समाधानकाे प्रयास सुरु गर्नु पर्छ भन्ने बताउनु भयाे । राज्यले शिक्षा र स्वास्थ्यका सेवा र सुविधाको ब्यवस्थापन गरिदिने काम गर्नुपर्छ भन्नुहुँदै उहाँले यहाँका अस्पतालमा नेपालीलाई मात्रै नभई चिकित्सा शिक्षा पढ्न विदेशीहरुलाई समेत माैका दिनुपर्छ भन्ने बताउनु भयाे । उहाँले विरामीहरुलाई माया गरेर उपचार गर्नुभएकाेमा हार्दिक धन्यवाद व्यक्त गर्दै अस्पतालकाे स्तराेन्नतिका लागि मन्त्रालय लागि पर्छ भन्ने प्रतिवद्धता ब्यक्त गर्नुभयाे ।

ललितपुर क्षेत्र नं. २ का संघीय सांसद प्रेमबहादुर महर्जनले मानिसकाे जीवनमा घट्ने धेरै घटनाका कारण मानसिक राेगी बन्न पुगेकाहरुलाई उपचार गर्ने क्रममा वनाइएकाे इकाई सुभारम्भ भएकोमा खुसी ब्यक्त गर्नुभयाे । उहाँले राेगकाे लक्षण थाहा नपाउँदा धेरै दुर्घटना हुन्छ भन्नुहुँदै वैलैमा उपचार गराउन नसक्दा मानिसले धेरै दुख पाउनु परेकाे र धेरैले जीवन गुमाउनु परेकाेले यसकाे समाधानका लागि तीनै तहकाे सरकारले ध्यान दिनुपर्ने बताउनु भयाे ।

जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेब फुँयालले मानसिक स्वास्थ्यलाई ख्याल राखेर देशैभरका विरामीलाई सेवा पुर्‍याउनु भएकोमा धन्यवाद भन्नुहुँदै समस्या समाधान र आवश्यक सूधारका लागि समन्वय र सहकार्य गर्ने बताउनु भयाे ।
नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रमडालले नेपाल र नर्वे लामाे सम्बन्ध भएका मित्र राष्ट्र रहेकाे बताउनु हुँदै मानसिक स्वास्थ्य समस्या समाधानका बिषयलगायतका धेरै सवनलहरुमा सहकार्यका साथ अगाडि बढ्ने बताउनु भयाे ।
किसाेरकिसाेरी सञ्जाल मधेश प्रदेशकी सदस्य खुसी चाैरासियाले प्रविधि र इन्टरनेटकाे दुनियाँमा किसाेरकिसाेरीहरुकाे स्वास्थ्यलाई ध्यान दिएर गरिएको याे प्रयास अतिआवश्यक र महत्त्वपूर्ण कार्य भएको बताउनु भयाे ।
सिबिन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले उत्पीडनमा परेका बालबालिका मनाेचिकित्साकाे समस्या भएको बताउनु हुँदै किसाेरकिसाेरीहरुका लागि सेवा प्रदान गर्ने अभिप्रायले छुट्टै युनिट खडा हुनु विकास, संरक्षण र शिक्षामा कार्यरत संघसंस्थाहरुका लागि खुसीकाे कुरा भएको बताउनु भयाे । उहाँले नागरिक संस्थाकाे सहकार्यमा काम गर्दा सिबिनले सन् २०१५ देखि हालसम्म समुदायका ३ लाख बालबालिकालाई सेवा पुर्‍याउन सकेको बताउनु भयाे ।