संस्कृति र सभ्यताको संरक्षण गर्ने काममा जातीय समाजको ठूलो भूमिका - प्रमुख जिल्ला अधिकारी श्रेष्ठ

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ १४, आइतबार वर्गीकृत स्थानीय-समाज

ललितपुर/ १४ माघ, प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले संस्कृति र सभ्यताको संरक्षण गर्ने काममा जातीय समाजको ठूलो भूमिका हुने बताउनु भएको छ । शनिबार ताम्रकार समाजले जावलाखेलमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रजिअ श्रेष्ठले यस्ता समाजले सक्रिय र सचेत भएर समुदायको कला, संस्कृतिलाई बचाउन सक्नुपर्छ भन्ने धारणा राख्नुभएको हो ।

"संस्कृति र सभ्यताको संरक्षण गर्ने काममा जातीय समाजको ठूलो भूमिका हुन्छ, यस्ता समाजले सक्रिय र सचेत भएर समुदायको कला, संस्कृतिलाई बचाउन सक्नुपर्छ। समाजले सामाजिक उत्तरदायित्व निर्वाह गर्न महत्त्वपूर्ण भूमिका खेलोस् भन्न चाहान्छु ।"श्रेष्ठले भन्नुभयो । 

उहाँले राज्यको प्रशासनिक नेतृत्व गर्दै सामाजिक सुरक्षा, समृद्धिका लागि प्रशासनीक काम गर्न आएको हौ भन्दै नागरिक समाज र प्रशासनबीच भाइचारा र नजिकको सम्बन्ध आवश्यक हुने बताउनु भयो । सदैव नागरिकको साथ र सहयोगमा रचनात्मक काम गर्न तत्पर छौं भन्दै परम्परा, रितिरिवाजलाई धान्दै नयाँ काम गरेर समाजलाई अग्रगतिमा लैजान सहकार्य गर्न समुदायसंग मिलेर काम गर्ने  प्रतिबद्धता जनाउनु भयाे ।

ललितपुरका प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक शेखर खनालले प्रहरी पनि यही समाजको व्यक्ति हो भन्दै प्रभावकारी रुपमा काम गर्दै शान्ति सूरक्षाका लागि हरदम क्रियाशील रहने बताउनु भयो । "प्रहरीलाई सदैव समाजको आवश्यकता पर्छ।अपराधिक क्रियाकलापहरु रोक्ने हाम्रो उद्देश्य हो,अपधाररहित र भय मुक्त समाज निर्माण गर्ने अभियानमा छौँ ।"खनालले भन्नुभयो । 

यल नेवा समाजका उपाध्यक्ष न्हुच्छेबहादुर  नेमकुलले पाटनका १९ वटा जातीय समाजलाई एकै ठाउँमा जोडेर परम्परागत संस्कृतिको जगेर्ना गर्न, सामाजिक अस्तित्व र सद्भाव कायम गर्नेलगायतका काम गर्न आवश्यक महसुस भएर यल नेवा समाज गठन भएको बताउनु भयो । 

ताम्रकार समाजका अध्यक्ष विनोद ताम्रकारले समाजले शिक्षा र स्वास्थ्यका साथै कुलदेवता मन्दिर उग्रचण्डीमाईको संरक्षण, जेष्ठ नागरिकहरुलाई तिर्थाटन गराउने, धार्मिक गतिविधिहरुमा सहभागी गराउने लगायतका कामहरू गर्दै आइरहेको बताउनु भयो ।