सांस्कृतिक र सामाजिक चालचलन जोगाउन राज्यकातर्फबाट लगानी — मेयर शाक्य

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ पौष १०, शनिबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ महानगरले ४५ जना दाफा गुरुहरुलाई सम्मान गरेको छ । २७ औँ महानगर दिवस ०७८ को अवसरमा खुशिँवुमा एक कार्यक्रमविच उहाँहरुलाई मेयर विद्यासुन्दर शाक्यले सम्मान गर्नुभएको हो । 

सम्मान कार्यक्रममा बोल्दै मेयर शाक्यले, महानगरभित्रका सामाजिक र सांस्कृतिक जीवनसँग सम्बन्धित मूर्त अमूर्त सम्पदाको संरक्षण र प्रवर्धनका लागि काठमाडौँ महानगरले राज्यकातर्फबाट लगानी गरिरहेको बताउनुभयो । ‘वर्तमान कुमारी, गणेश र भैरव, पूर्व कुमारी, गणेश र भैरवको मासिक भत्ता बढाएका छौँ । जो देवी देवताका रुपमा रहनुहुन्छ । उहाँहरुले अन्य पेशा गर्न नसक्ने भएपछि जीवन तथा घर व्यवहार चलाउन कठिन हुन्छ । यसले परम्पराप्रतिको आकर्षण घट्न सक्छ । यसप्रतिको आकर्षणलाई बचाउन हामीले परम्परागत संस्कारको निरन्तरताका लागि जसले पूरा समय दिनुहुन्छ, उहाँहरुका लागि भत्ताको व्यवस्था गरेका हौँ । परम्परागत बाजागाजाको संरक्षण र प्रशिक्षणका लागि  यसबाट जात्रा, पर्व, संस्कार र संस्कृतिको निरन्तरतामा प्रोत्साहन हुनेछ ।’ 

तहगत संरचनामा ३ तहका सरकार छन् । तीमध्ये स्थानीय तहका जनप्रतिनिधिले जनतासँगसँगै काम गर्ने हुन् । प्रदेश र संघ सरकारमा प्रतिनिधित्व गर्ने सदस्यहरुको जनताका दुःखसँग कम परिचय हुन्छ । मेयर शाक्यले, जनताका दुःखको सबैभन्दा नजिक पालिकाका जनप्रतिनिधि नै हुने बताउँदै आफूहरुले सामाजिक र सांस्कृतिक जीवनको महत्व नजिकबाट बुझेको बताउनुभयो । 

महानगरको परम्परागत चिनारीलाई यथावत राख्न बाजा गुरुहरुको सीप र कलालाई पुस्तान्तरण गर्नु पर्नेछ । यसका लागि हामीले प्रयास गरिरहेका छौँ । कार्यक्रममा वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले भन्नुभयो, ‘सांस्कृतिक पहिचान जोगाउनुलाई हामीले प्राथमिक कामका रुपमा लिएका छौँ । बाजागाजाहरु सामाजिक काम, मठमन्दिर तथा जीवन मृत्यु पर्यन्तका संस्कारसँग जोडिन्छन् । यिनीहरुको एकीकृत विकासमा हामीले लगानी बढाएका छौँ ।’

सम्मानपछि गुरुहरु ज्योती शाक्य र राजभाइ ज्यापूले महानगरबाट प्राप्त भएको सहयोगले परम्परागत बाजा संरक्षण, वादन प्रशिक्षणका कार्यक्रम बढ्दै गएको धारणा राख्नुभयो । महानगरको लगानीबाट परम्परालाई पुस्तान्तरण गर्न सहज भएको हामीलाई महसुस भएको छ । दाफा गुरुहरुको भनाइ थियो।

काठमाडौँ महानगरभित्रका परम्परागत टोलहरुमा सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न र निरन्तरता दिन गुठीलगायत विविध सामाजिक संगठन बनाइएको हुन्छ । त्यसमा नायो, कजि र गुरुहरु हुन्छन् । नायोले प्रशासनिक, कजिले व्यवस्थापकीय र गुरुले बाजागाजा सिकाउने काम गर्छन्।

बाद्यबादन र गायनसँग सम्बन्धित दाफा यही संगठनबाट सञ्चालन गरिने परम्परागत संस्कार हो । दाफा डवली, पाटी, मन्दिरको अगाडि वा सत्तलमा मात्र सञ्चालन हुन्छ । खिँ र ता बाजा बजाउँदै गायन गर्नु दाफाको परम्परागत चिनारी हो । पछि अन्य बाजाहरु मिसाएर गाउने चलन छ।

काठमाडौँका हरेक जात्रा, पर्व र संस्कार बाद्यवादन तथा गायनसँग सम्बन्धित हुन्छन् । यसरी बजाइने बाजा र गाइने गीत सम्बन्धी आफ्नै नियम हुन्छन् । ऋतु, पर्व र संस्कारअनुसार समय तोकिएको हुन्छ । टाढाबाट बाजाको बोल सुनेर कुन क्रियाकलाप भएको हो, थाहा पाउन सकिन्छ।