साउन ३२ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

Swoniga Online – Rosni | २०७८ श्रावण २९, शुक्रबार वर्गीकृत राजनीति

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी साउन ३२ गतेसम्मको लागि स्थगित भएको छ । आजको बैठकमा शुन्य समयबाहेक विशेष समयमा बोल्ने कुनै कार्यक्रम नरहेकाले बैठक सभामुख अग्नि सापकोटाले सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् । 

आजको बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको शब्दप्रति एमालेले आपत्ति जनाएको थियो ।  

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे । 

उनको मागपछि सभामुख अग्नि सापकोटाले मातृकाको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए । यादवले बिहीबार ओलीमा मेन्टल्ली र फिजिकक्ली समस्या रहेको विवादित अभिव्यक्ति दिएका थिए । त्यसपछि शुन्य समयमा सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखेपछि बैठक सकिएको घोषणा गरियो ।