add

सानिमा लाइफको आईपीओमा दुई दिनमै ४.४३ गुणा आवेदन

Swoniga Online – Rosni | २०७८ श्रावण २२, शुक्रबार वर्गीकृत आर्थिक

सानिमा लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँबराबरको आईपीओमा लगानीकर्ताको आकर्षण अत्यधिक रहेको छ । आईपीओ निष्कासन भएको दोस्रो दिन बिहीबारसम्म ४.४३ गुणाले आवेदन परेको छ ।

कम्पनीले बुधबारबाट १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको छ । कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

बिहीबार अपरान्ह ५ बजेसम्म १५ लाख ४ हजार ८११ आवेदकबाट २ करोड ३९ लाख ४७ हजार ७८० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । यो मागभन्दा ४.४३ गुणा बढी आवेदन हो । यो आईपीओको साउन २४ गतेसम्म आवेदन दिन पाइन्छ ।