स्वस्तिका कांग्रेसकी कान्छी सभापति !

Swoniga Online – Rosni | २०७८ भाद्र २०, आइतबार वर्गीकृत राजनीति

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशनहरु सुरु भइरहेका छन् । कांग्रेसको यो महाधिवेशनमा सबैभन्दा बढी चर्चामा आएको विषय हो, पुस्तान्तरणको विषय । अर्थात्, अब युवा पुस्ताले कांग्रेसलाई अगाडि बढाउनु पर्ने सबैले बताउन थालेका छन् ।

यहीबीच दैलेखको दुल्लु नगरपालिका वडा नं ३ को वडा सभापतिमा स्वस्तिका महत निर्वाचित भएकी छिन् । १९ वर्षकी स्वस्तिका सम्भवतः यो अधिवेशनमा निर्वाचित हुने कांग्रेसकै सबैभन्दा कान्छी वडा सभापति हुन् ।

स्वस्तिका वडा सभापति बनेपछि सामाजिक सन्जालमा उनको विषयमा निकै धेरै चर्चा चलेको छ । नेपालगन्ज टेक्निकल कलेजबाट हेल्थ असिस्टेन्टको अध्ययन पूरा गरेकी स्वस्तिका अब आफूले राजनीतिक यात्रालाई नै अगाडि बढाउने सुरसारमा छिन् ।

विद्यार्थी राजनीतिमा पनि सक्रिय रहेकी स्वस्तिकाको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक नै देखिन्छ । उनका बुबा पार्टीको जिल्ला उपसभापति समेत भएका थिए । दुई वर्षअघि निधन भएका स्व। भुपेन्द्रजंग बस्नेतकी छोरी हुन्, स्वस्तिका ।

राजनीतिमा बुवाको खटाई र मिहिनेत स्वस्तिकाले नजिकबाट नियालेकी थिइन्। घरको माहौल पनि राजनीतिक थियो।

धेरै किसिमका मानिसहरु आएर राजनीतिक कुरा गर्थे। राजनीतिसँगै गाउँ विकासका पनि कुरा हुन्थे। ती सबै कुराहरु स्वस्तिकाले पनि चाख दिएर सुन्थिन्।

दुल्लु नगरपालिका प्रमुख एवम् कांग्रेस नेता भुपेन्द्र भण्डारीले युवाहरुलाई नेतृत्वमा ल्याउने पार्टीको नीति अनुसार नै स्वस्तिकालाई वडा सभापति बनाइएको बताएका छन् । स्वस्तिकाका पिता एवम् कांग्रेस दैलेखका तत्कालीन उपसभापति भुपेन्द्रजंग महतको २०७६ कात्तिकमा डेंगु संक्रमणका कारण निधन भएको थियो ।

डेंगु भएपछि उनी उपचारका लागि भारतको दिल्लीस्थित एपोलो अस्पताल पुगेका थिए । भारतको मुम्बई भ्रमणका क्रममा बिरामी परेपछि दिल्लीमा उपचारका क्रममा उनको निधन भएको थियो । स्वस्तिका पनि बुवाकै पदचाप पछ्याउँदै कांग्रेसको राजनीति लागेकी छन्।

उनलाई सानै उमेरमा कांग्रेसले गाउँको कमाण्ड सुम्पिएपछि अन्य दलका नेताले पनि प्रशंसा गरेका छन् । भण्डारीका अनुसार महत ‘एचए’ को पढाइ पूरा गरेर बसेकी हुन्। महतको पारिवारिक पृष्ठभूमि कांग्रेस नै हो।

‘महिलाले राजनीतिमा केही गर्न सक्दैनन्, नेतृत्व लिन सक्दैनन् भन्ने सोचलाई चिर्न मैले केही गरेर देखाउनु छ,’ उनी भन्छिन्, ‘हाम्रो ठाउँमा महिलाहरुले राजनीतिमा चासो दिएका छैनन्। अब म उदाहरण बनेर उहाँहरुलाई नेतृत्वमा ल्याउन पहल गर्नेछु।’

राजनीतिमा कहाँसम्म पुगिन्छ, स्वस्तिकाले त्यसको आँकलन गरेकी छैनन। तर उनी आफूलाई जतिसक्दो परिपक्व बनाउँदै लगिरहेकी छिन्। कांग्रेसको इतिहास, विधि विधान, कानुन, सरकारी संयन्त्र आदिबारे अध्ययन गरिरहेको उनले बताइन्।

‘सबै कुरा त थाहा छैन। अझै सिक्दैछु। अध्ययन गर्दैछु। विधि विधान हेर्दैछु,’ उनले भनिन्, ‘भर्खर सुरुवात गरेको छु। वडा सभापतिमा राम्रो काम गर्दै गए भविष्यमा अरु यात्रा पनि सहज होला। अहिले सबैलाई एकजुट बनाएर विकासका लागि अगाडि लैजाने सोचका साथ अघि बढेकी छु।’