हत्या आरोपमा प्रहरीले अभियुक्त पक्राउ

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २७, बिहिबार वर्गीकृत अपराध

हत्या आरोपमा प्रहरीले अभियुक्त पक्राउ गरेपछि गुल्मीको रेसुंगा नगरपालिका-३ भाँडगाउँमा मृत भेटिएकी सम्झना बोहराको शव उनका आफन्तले बुझेका छन् ।

 प्रहरीले सम्झनाको हत्या आरोपमा ४७ वर्षीय लालबहादुर खत्रीलाई पक्राउ गरी सार्वजनिक गरेपछि माइती पक्षको सहमतिमा सम्झनाका ससुरा गणेशबहादुर खत्रीले शव बुझेको पाण्डेले बताए ।

प्रहरीका अनुसार नाताले ससुरा पर्ने लालबहादुर हत्यापछि घटना ढाकछोप गर्न पीडित परिवार र स्थानीयले गरेको आन्दोलनमा पनि सहभागी भएका थिए । उनले सम्झनाको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । तर हत्या गर्नुको कारण भने खुलेको छैन ।

घटनाको अनुसन्धानका लागि प्रहरीले लालबहादुरलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत गुल्मीबाट अनुमति लिएको छ । बेपत्ता भएको १८ दिनपछि फागुन १७ गते सम्झनाको शव घरनजिकैको झाडीमा टाउको बोराभित्र राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा फेला परेको थियो ।

सम्झना बोहरा गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी थिइन् । अभियुक्त लालबहादुरले २९ गते नै हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । अभियुक्त लालबहादुरले नै गाउँमा शवको गन्ध आएको भनी स्थानीय जनप्रतिनिधिलाई खबर गरेका थिए ।