४ बजेको संसद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले बोलाए सत्ता गठबन्धनको बैठक

Swoniga Online – Rosni | २०७८ भाद्र २३, बुधबार वर्गीकृत राजनीति

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा रहेका दलहहरुको बैठक बोलाएका छन् । ४ बजेको संसद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा बोलाएका हुन् ।

प्रमुख प्रतिपक्ष एमालले संसद् अवरुद्ध गर्ने निर्णय गरेको छ । आजै संसद् भवनमा बसेको एमाले संसदीय दलको बैठकले यथास्थितीमा सदन चल्न नदिने निर्णय गरेको थियो ।

एमालेले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष रूपमा भूमिका नखेलेको पनि आरोप लगाउँदै आएको छ । 'जो एमाले सिध्याउन खोजिराख्या छ भने सभामुखको निष्पक्षता कसरी हुन्छ । सभामुख गठबन्धनको पक्षधरमा देखिनुभयो, एमालेविरोधी षड्यन्त्रमा रहेको देखियो । तसर्थ सभामुखलाई यथास्थितिमा मानेर जान सक्ने स्थिति रहेन,' बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भने ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गर्नुपर्ने दबाब पार्टीलाई दिएका छन् ।

बुधबार बिहान संसदीय दलको बैठकमा सांसदहरूले सभामुख सापकोटाले एमाले फुटाउन भूमिका निर्वाह गरेकाले उनको राजीनामा माग गर्नुपर्ने बताएका हुन् । बैठकमा सांसद खगराज अधिकारी, गोकुल बाँस्कोटा, कृष्णप्रसाद दाहाल कृष्णभक्त पोखरेल, राधा ज्ञवालीलगायतले  सभामुखको राजीनामा माग्नुपर्ने बताएका हुन् ।

सांसद अधिकारीले सभामुख पार्टीको निर्णयलाई कानुन सम्मत रूपमा भूमिका निर्वाह गर्नुपर्नेमा एमाले फुटाउन उद्दत रहेकाले उनको राजीनामा माग गर्नुपर्ने बताए । 'दलले निर्णय गरेर पठाएपछि त्यसको कार्यान्वयन गर्नुपर्ने दायित्वबाट विमुख भएर एमाले फुटाउने षड्यन्त्रमा लागेका सभामुखको राजीनामा माग्नैपर्छ,' उनले भने ।

सांसद राधा ज्ञवालीले सभामुख सापकोटा अब संसदको अध्यक्षता गर्न लायक नरहेको बताइन् । बैठकमा बोल्दै सांसद कृष्णभक्त पोखरेलले भने, 'सभामुखले राजनीतिक दलसम्बन्धी ऐन र प्रतिनिधिसभा नियमावली विपरीत गएर काम गरेको हुनाले उहाँको राजीनामा माग गर्नुपर्छ ।'

यस्तै सांसद महेश बस्नेतले सभामुख सापकोटाले कुनै अमुख दलको कार्यकर्ता भएर काम गरेकाले उनलाई महाअभियोग लगाउनुपर्ने बताए । 'सभामुखले कुनै पार्टीको कार्यकर्ता भएर कार्यसम्पादन गर्नुभयो । एमाले फुटाउन सक्रिय हुनुभयो । राजीनामा मात्रै होइन महाअभियोग लगाउन पनि केन्द्रित हुनुपर्छ,' उनले भने ।